खुमलटारमा प्रचण्डसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता


८ मंसिर २०७७, सोमबार
prachanda

काठमाडौं, ८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चरम विवाद बढिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत यान्छी आज (सोमबार) विहान खुमलटार पुगेकी हुन् ।
नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूत यान्छीले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् । उनले केहि दिनअघि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन् ।

नेकपाभित्र विवाद बढ्दै जाँदा चिनियाँ दूतावास पनि सक्रिय देखिंदै गएको छ । नेकपाको विवाद सुल्झाउन राजदूत यान्छी समेत सक्रिय रहँदै आएको चर्चा हुँदै आएको छ । यसअघिको नेकपा विवाद समाधानमा पनि यान्छीको भूमिका रहेको राजनीतिक वृतमा चर्चा हुने गरेको छ ।

उनले चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेका बेला प्रचण्डसँग भेट गरेक हुन् । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने कार्यक्रम छ ।

चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङहे नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् ।

केहि समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

चीन र भारतबीच सीमा विवाद चर्किरहेका बेला अमेरिका र भारतले पछिल्लो समय यस क्षेत्रमा बढाउँदै लगेको गठबन्धनबीच चीनबाट नेपालमा हुन लागेको उच्चस्तरीय राजनीतिक भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७