६ वर्षीया बालिका हत्या प्रकरण : बर्दिबासमा प्रहरीले चलायाे गोली, तीन जना घाइते

प्रहरीले खुलायो राजमार्ग


९ मंसिर २०७७, मंगलवार
bardibas 17 NPXKZEJJs2

बर्दिया, ९ मंसिर । ६ वर्षीया बालिका गुलाव साह खातुनको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ ।

गोली लागी तीन जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको गोली लागेर बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएको स्थानीयले जानकारी दिएका छन् ।

न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेको छ । न्यौपाानेको उपचार अहिले बर्दिबासस्थित पिनायक हस्पिटलमा हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ । अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदैछ ।

आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।

बर्दिबास नगरपालिका–१४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याँकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरे पनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन ।

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका–५ स्थायी ठेगाना भएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

प्रहरीले खुलायो राजमार्ग
हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ ।
प्रहरीको हस्तक्षेपपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड सुचालु भएको छ भने स्थानीयको प्रदर्शन भने जारी नै रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७