कोरोनाबाट पोखरामा थप दुई महिलाको मृत्यु

पोखरा, ११ मंसिर । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई महिलाको ज्यान गएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिएको जानकारी अनुसार मणिपाल शिक्षण अस्पताल र कास्की सेवा अस्पतालमा एक–एक गरी दुई संक्रमित महिलाको मृत्यु भएको हो ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले दुवै महिलाको गएराति निधन भएको जानकारी दिए । निर्देशक शर्माका अनुसार मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचाररत पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको हो ।
त्यस्तै मंसिर ९ गते कोरोना पुष्टि भएपछि कास्की सेवा अस्पतालमा उपचाररत लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको गए राति नै निधन भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४४ पुगेको छ ।