भारतको जम्मु कश्मिरमा पहिलो चरणको मतदान


१३ मंसिर २०७७, शनिबार
DDC polls

जम्बु कश्मिर, १३ मंसिर । भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ । जिल्ला विकास परिषद् (डिडिसी) गठनका लागि शनिबार विहानदेखि मतदान भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार विहान सुरु भएको मतदान दिउसो २ बजेसम्ममा सम्पन्न गर्ने तय गरिएको थियो । केन्द्रीय सरकार मातहतमा रहेको कुल २८० निर्वाचन क्षेत्र मध्ये ४३ निर्वाचन क्षेत्रमा शनिबार पहिलो चरणको मतदान भएको हो ।

जम्मु र कश्मिरमा जिल्ला विकास परिषद्को निर्वाचन आठ चरणमा सम्पन्न गर्ने निर्वाचन कार्यालयले तालिका बनाएको छ । सवै चरणका निर्वाचन आगामी डिसेम्बर १९सम्ममा सम्पन्न हुने तालिका रहेको छ ।

त्यसैगरी गणना भने डिसेम्बर २२ देखि हुने निर्वाचन कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । जिल्ला विकास परिषद्सँगै खालि रहेका सहरी स्थानीय संयन्त्र (युएलबी)को २३४ सिटका लागि पनि निर्वाचन हुने जनाइएको छ ।

निर्वाचनका लागि नेस्नल कन्फ्रेन्स, पिपल्स डेमोक्रयाटिक पार्टी, पिपल्स कन्फ्रेन्स र सिपिआई (एम) पार्टीले गठबन्धन बनाएर प्रतिश्पर्धामा उत्रिएका छन् । निर्वाचनमा राष्ट्रिय पार्टीहरु भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसले पनि आ आफ्ना उम्मेदबारहरु प्रतिष्पर्धामा उतारेका छन् ।

मतदानका क्रममा कोरोना भाइरस सर्न नदिनका लागि आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउन लगाइएको छ । स्वास्थ्य विभागका कर्मचारीहरुलाई परिचालन गरेर निर्वाचनमा संलग्न सवैलाई मापदण्ड पलना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त के के शर्माले जानकारी दिए ।

‘निर्वाचनका लागि अत्यावश्यक पर्ने, सुरक्षा व्यवस्थालगायतका सवै व्यवस्थापन पर्याप्त रुपमा गरिएको छ’, शर्माले भने । उनका अनुसार पहिलो र दोस्रो चरणको निर्वाचन हुने दुर्गम क्षेत्रमा पनि निर्वाचनको तयारी पुरा गरिएको छ ।

जम्मु र कश्मिरका प्रहरी महानिर्देशक डिलबाग सिंहको अध्यक्षतामा शुक्रबार बसेको उच्चस्तरीय बैठकले निर्वाचनको तयारी सम्वन्धी सवै पक्षमा समीक्षा गरेको थियो । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७