‘सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्छन्’


१५ मंसिर २०७७, सोमबार
yogesh bhattrai
फाइल फोटो

चितवन, १५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको संख्या निकै बढ्ने बताएका छन् ।

रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उनले विगतका वर्षको भन्दाबढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।

मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने, ‘सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।’ उनले सन् २०२१ सँगै स्वदेशी पर्यटक निकै बढ्ने बताए । उनले भने, ‘यो क्षेत्र अगाडि आउँछ, विशेषगरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्नेछौँ ।’

नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको उनको भनाइ थियो । उनले कोरोना सङ्क्रमण घटेसँगै घुम्न नपाएर बसेका नेपालीले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताए । अहिले नै महत्वपूर्ण पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटक आउन थालेको उनको भनाइ छ ।

तत्कालै अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको उल्लेख गर्दै उनले भने, ‘पर्यटकीय गन्तब्य, होटल लगायतमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।’ पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाइ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमबजार तहसनहस भएको बताए । उनले भने, ‘विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था आएको छ ।’

श्रम बजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमा नै सम्भावनाको खोजी गर्नु आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।

संस्कृतिलाई माटोसँग जोडेर पर्यटनको विकास गर्नसके स्वदेशमा नै रोजगारी सिर्जना हुने उनले बताए । रोजगारीको खोजीमा विदेशिएका युवाले नेपालमा नै पसिना बगाउनसके विदेश पलायन हुनबाट बचाउन सकिने उल्लेख गर्दै उनले भने, ‘वार्षिक ६०० भन्दाबढी नेपालीको शव नेपाल आउने अवस्थाको अन्त्य गर्न स्वदेशमा नै रोजगारी सिजना गर्नु आवश्यक छ ।’

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्व र क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले बोलेका थिए । हस्पिटालिटीका प्रमुख रामेश्वर शाहले रु २५ करोडको लगानीमा सौराहामा बुटिक रिसोर्ट निर्माण गर्न शुरु गरिएको जानकारी दिए । उनी गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधि हुन् । ३४ कोठामा ६५ बेडको सो रिसोर्ट सन् २०२२ बाट सञ्चालनमा आउनेछ । १२ कट्ठा १० धुर क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७