आफन्तबाटै छोरीचेली असुरक्षित


१६ मंसिर २०७७, मंगलवार
1600391770 rape ag 1200x560 wm

रौतहट, १६ मंसिर । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्रयाक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन् । यस्ता घटना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको विश्लेषण गर्न थालिएको छ ।

रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहले गाउँकै सोसिन्द्रकुमार भगतसँग भएको प्रेम स्विकार्न नसकेपछि भाडाका हत्यारा प्रयोग गरेर १७ वर्षिया छोरी अमृताकुमारी साहको ज्यान लिन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी समक्ष अपराध स्विकारेका रामअयोध्या अहिले थुनामा छन् । त्यस्तै भारत घर भई सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहामा बस्दै आएका एक पुरुषले आफ्नी ६ वर्षकी छोरीलाई पटक पटक बलात्कार गर्दै आएको घटना सार्वजनिक भएको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको छ ।

मधेसी समाजमा ‘प्रेम’ को नतिजा कति क्रुर हुँदो रहेछ भन्ने साक्षी रौतहतको घटना बनेको छ । यिनै घटनाका कारण सामाजिक संस्कारमाथि धब्बा लागेको मधेसका बुद्धिजीवीहरूको विश्लेषण छ । ‘यी घटनाका पछाडि दहेज (दाइजो) र आधुनिकीकरणको प्रभाव छ ।

आधुनिकीकरणका नाममा अभिभावकीय घेरा टुटिसकेको छ,’ सामाजिक अभियन्ता राजकुमार महतो भन्छन्, ‘अनुशासन र अभिभावकत्व नमान्ने एउटा पुस्ता र मान्नैपर्छ भन्ने अर्को पुस्ताबीचको अघोषित आन्तरिक विद्रोहको नतिजा स्वरूप यस्तो घटना भएको हुन सक्छ ।’

उनका अनुसार पहिले घरायसी इज्जतका लागि आफ्नो आवश्यकता दबाएर राख्ने छोरीचेली अहिले ‘एक्सपोज’ तर्फ उन्मुख हुँदैछन् । ‘नयाँ पुस्ताका छोरीचेली अहिले अभिभावकसँग आन्तरिक विद्रोहमा उत्रिसकेका छन्, जसको नतिजा बाबुले छोरी मार्ने हदसम्म पुगिसक्यो,’ उनी भन्छन्, ‘यस्तो क्रुरता र अपराधले समाज काबुबाहिर गइरहेको अवस्थालाई दर्साउँछ । यसलाई समय रहँदै काबुमा ल्याउनैपर्छ ।’

प्रायः अभिभावकत्व गुमाइसकेको समाजमा उच्छृंखलता बढेको उनको भनाइ छ । ‘समाजको एउटा पुस्ता आफूअनुकूल संस्कार परिवर्तन गर्न चाहन्छ, अर्को पुस्ता यथावत् राख्न खोज्छ । अधिकार र स्वतन्त्रताको असन्तुलनले विकृति भित्रँदो रहेछ,’ महतो भन्छन्, ‘अभिभावकले कठोरता त्यागेर नरम बन्नुपर्छ, छोरीचेलीले पनि अभिभावकलाई बुझ्नुपर्छ ।’

स्वाभिमान र दम्भका कारण प्रेममा रहेका छोराछोरीसँग बाबुले सम्बन्ध तोडेका घटना प्रशस्त देखिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईं बताउँछन् । ‘अहिले आएर त्यही दम्भ ज्यान लिने अवस्थामा पुगिसक्यो,’ उनी भन्छन्, ‘अभिभावकले छोराछोरीको रोजाइ ठम्याउन सक्नुपर्छ ।’ उनका अनुसार यो घटनामा विवेकशून्य बुद्धिको भरपुर प्रयोग भएको पाइन्छ । अलिकति विवेकको प्रयोग भए यो हदसम्मको घटना नहुन सक्थ्यो ।

अरू जातिसँग प्रेम गरेकी युवतीलाई विवाह गर्दा दाइजो धेरै लाग्ने सोचेर हत्या गराएको हुन सक्ने रामअयोध्याका छिमेकीहरू अनुमान लगाउँछन् । मधेसी समुदायमा सामान्यतः बिनादाइजो छोरीको विवाह हुँदैन । अरू जातसँग भागेको वा प्रेम गरेको थाहा पाएर विवाह गर्ने केटा पक्षले टन्न दाइजो नलिई सदा (केटी) लिँदैन । छोरीले रोजेको केटा बाबुलाई पचेन, आफूले रोजेकोसँग विवाह गराउँदा खर्च थेग्न गाह्रो पर्ने भएपछि रामअयोध्याले छोरी अमृताको हत्या गराएको हुन सक्ने गाउँलेहरू बताउँछन् ।

यसरी गराइएको थियो छोरीको हत्या
गाउँकै सोसिन्द्रसँग अमृताको तीन वर्षदेखि प्रेम सम्बन्धको जानकारी भए पनि परिवारकै दबाबमा २०७६ फागुनमा सर्लाहीको विष्णु गाउँपालिका–३ का रूपेश साहसँग अमृताको मागीविवाह गराइएको थियो ।

त्यसको केही समयपछि रूपेशमाथि छुरा प्रहार गरी ज्यान मार्ने प्रयास भयो । त्यसपछि अमृता डरले माइतीघरमा आएर बस्न थालिन् । यहीबीचमा २०७७ असारमा रूपेश र अमृताबीच सम्बन्ध विच्छेद भयो । त्यसपछि रूपेशले जिल्ला प्रहरी सर्लाहीमा अमृता र उनका प्रेमी सोसिन्द्रमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराए ।

सम्बन्धविच्छेद भइसकेका पतिबाट मुद्दा दर्ता भएपछि छोरी पक्राउ पर्ने र इज्जत जाने डर अयोध्याको मनमा पैदा हुन थाल्यो । त्यसमाथि छोरी प्रेमीसँग भागेर जाने अर्को डर पनि थपिएपछि हत्याको योजना बनाएको अमृतका बुवाआमाले प्रहरीसमक्ष बयान दिएका छन् । त्यसपछि बुबा रामअयोध्या र भिनाजु देवाही गोनाही नगरपालिका–२ करुनिया लक्ष्मीनियाका लक्ष्मण साह मिलेर परोहा नगरपालिका–४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँको ‘सुपारी’ दिई अमृतालाई मार्ने योजना बनाए ।

कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारत लैजाने र उतै हत्या गर्ने योजना बनाए पनि सफल हुन सकेन । त्यसपछि कात्तिक २६ गते फेरि देवाही गोनाही–२ लक्ष्मीनियाका कैमुल देवानलाई १ लाख रकम दिई गोली हान्न अर्को सुपारी दिइयो ।

त्यो योजना भने सफल भयो । कात्तिक २६ गते राति आमा सीतादेवीसँग सुतिरहेकै अवस्थामा दाहिने कञ्चटमा गोली हानी अमृताको हत्या गरियो । प्रहरीले मृतकका ५५ वर्षीय बुबा रामअयोध्या, आमा सीतादेवी, देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनियाका सेख अलियास, इस्लाम अन्सारी, सेख इम्ताज र परोहा नगरपालिका–४ का छोटेलाल साहलाई पक्राउ गर्‍यो ।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा सजाय भइरहेको प्रदेश प्रहरी प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए । ‘छोरीको अर्कै केटासितको प्रेम अस्वीकार गर्ने क्रममा अभिभावकले रकम दिएर छोरीको हत्या गर्न लगाएको खुलेको छ,’ प्रदेश प्रहरी प्रवक्ता एसपी प्रसाईंले भने, ‘छोरी अर्कै केटासित भाग्ने र इज्जत जाने डरले हत्या गरिएको रहेछ ।’

अमृताको हत्या अभियोगमा बाबु रामअयोध्या साह तेली, आमा सीतादेवी साह र भिनाजु लक्ष्मण साहसमेत पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाबु र भिनाजुले योजना बनाएर अरूलाई पैसा दिई गोली हान्न लगाएको र आमाले योजना सफल गराउन भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

बाबु र भिनाजुले देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनियाका कैमुल देवानलाई एक लाख रुपैयाँ दिएर गोली हानी हत्या गराउन लगाएका थिए । घटनामा युवतीका बाबु, आमा, भिनाजुका साथै सेख अलियास, बहुदल भनिने सेख इस्लाम अन्सारी, सेख इम्तियाजलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराएको छ । युवतीमाथि गोली प्रहार गर्ने कैमल देवान फरार रहेकाले खोजी भइरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।

छोरी बलात्कार आरोपित हिरासतमा
छोरी बलात्कारका घटनामा प्रहरीले भारत मुज्जफरपुर घर भई इँटा उद्योगमा काम गर्ने ३५ वर्षीय पुरुषलाई पक्राउ गरी जबर्जस्ती करणी कसुरमा आइतबार जिल्ला अदालत सर्लाहीबाट अनुसन्धानका लागि थप म्याद लिएको छ ।

पीडित बालिकाकी आमाले आफ्नै पतिविरुद्ध उजुरी दिएपछि मात्रै ती पुरुषलाई पक्राउ गरिएको हो । इँटा उद्योगकै झुपडीमा छोरी सुतिरहेका बेला बाहिर लगेर बलात्कार गरेको भन्दै बालिकाकी आमाले इलाका प्रहरी कार्यालय हरिपुरमा मंसिर १२ गते सर्लाही प्रहरीमा उजुरी दिएकी थिइन् । लगत्तै प्रहरी पुगेर बलात्कार आरोपितलाई पक्राउ गरी बालिकाको स्वास्थ्य परीक्षण गराएको थियो । आरोपित हरिपुर प्रहरीको हिरासतमा छन् ।

उल्लिखित दुई घटनाले प्रदेश २ अर्थात् कोर मधेसको समाजलाई खल्बलिँदै गएको पुष्टि गरेको छ । ती घटनाबाट मानवता, मानवीय संवेदनामाथि प्रश्न तेर्सिएको छ । नाता सम्बन्धमै ज्यान मार्नेजस्तो घटना हुँदा पनि प्रदेशदेखि स्थानीय सरकार वितरणमुखी कार्यमै केन्द्रित रह्नु दुर्भाग्यपूर्ण भएको सामाजिक अभियन्ता महतो बताउँछन् । व्यक्तिको मनोदशाको उपचार गरी समाजको मनोविज्ञान सुधार्न नसके आगामी दिन अझै भयावह हुने उनको भनाइ छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७