देउवा पूर्ण असफल भए : कृष्णप्रसाद सिटौला
काठमाण्डौं, २९ माघ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पूर्ण असफल बनेको बताएका छन् ।
आफ्नै पार्टी सभापतिको वचाऊ गर्नुपर्नेमा सिटौलाले देउवामाथि यस्तो आरोप लगाएका छन् । कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सदस्यहरुको नामावली तय गर्दै गर्दा आफ्नो पक्षको भेलामा बोल्दै सिटौलाले नेतृत्वका कारण कांग्रेस सामन्तवादतर्फ उन्मुख भएको कारण देउवा असफल भएको आरोप लगाएका हुन् ।
चुनावी समीक्षा सँगसँगै अबको रणनीति बुन्न समेत बसेको छलफलमा नेता सिटौलाले कार्यकर्ता तहलाई उत्साही बनाउन नेतृत्वले कुनै पनि जिम्मेवारी भूमिका खेल्न नसकेको बताए । सिटौलाले नेतृत्व विधि र विधानलाई पालना गर्नुभन्दा पनि उल्लंघन गर्नमा रमाएको दाबी गरेका छन् । नेता सिटौलाले कांग्रेसलाई र देश हाँक्न सक्ने बनाउन र गति दिन सक्ने बनाउन आवश्यक रहेको भन्दै रणनीतिमा फेल भएको नेतृत्वले पार्टी हाँक्न सक्ने हैसियत गुमाएको स्पष्ट पारेका छन् । बैठकमा सिटौला र थापासँगै, रक्षामन्त्री भीमसेन दास प्रधान, उमाकान्त चौधरी, धना खतिवडा, प्रदीप पौडेलसहितका नेता तथा कार्यकर्ता सहभागी रहेका थिए ।