फोहरमैला विसर्जन केन्द्र स्थापना हुने


२४ मंसिर २०७७, बुधबार
Kathmandu Fohor

संखुवासभा, २४ मंसिर । चैनपुर नगरपालिकाले नगर क्षेत्रको फोहरमैला व्यवस्थापन गर्ने गरी डम्पिङ साइट (फोहोरमैला सङ्कलन केन्द्र) को स्थापना गर्ने भएको छ । एक हजार ७३ वर्गमिटर क्षेत्रफल जग्गामा नौ हजार ६०४ दशमलव ६ घनमिटर क्षमताको फोहरमैला विसर्जन केन्द्र निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।

अनुमानित रु तीन करोडको लगानीमा दुई वर्षभित्रमा योजना पूरा गर्ने गरी निर्माणको काम थालनी गरिने भएको छ । चैनपुर नगरपालिकास्थित पोखरी बजार नजीक दाहालडाँडा छेउको सार्वजनिक जमीनमा फोरहमैला विसर्जन केन्द्रका लागि नगरपालिकाले वातावरणीय परीक्षण समेत गर्ने भएको छ ।

सेमी एरोबिक लेन्ड फिल्ड साइट मोडेलमा निर्माण हुने सो केन्द्रमा सड्ने र नसड्ने गरी फोहर छुट्याएर विसर्जन गरिने वडा नं ३ का अध्यक्ष बलबहादुर अधिकारीले बताए । सड्ने फोहरबाट प्राङ्गारिक मल समेत उत्पादन गर्न सकिने उनको भनाइ छ ।

नगरपालिकाले हालै फोहरमैला व्यवस्थापन केन्द्रका लागि प्रारम्भिक वातावरणीय परीक्षण सार्वजनिक सुनुवाइ कार्यक्रम समेत सम्पन्न गरेको छ । फोहरमैला व्यवस्थापन केन्द्रको वातावरणीय परीक्षणमा वायु प्रदूषण, दुर्गन्ध, पानी प्रदूषण, माटो प्रदूषण, भूमिगत जलस्रोत, व्यवसायजन्य सुरक्षा जोखिमजस्ता विषयमा परीक्षण गरिने वातावरण विज्ञ सन्देश पोखरेलले बताए ।

केन्द्रका चैनपुर बजार, खराङ बजार, पोखरी बजार, नुनढाकी बिहीबारेलगायत शहरी क्षेत्रको फोहरमैलालाई व्यवस्थित गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७