मंसिर २८ गते रातभर मिथुन उल्कावर्षा, प्रतिघण्टा १५० वटासम्म देख्न सकिने


२५ मंसिर २०७७, बिहीबार
105841076Ulka Barsha

काठमाडौं, २५ मंसिर । मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरिक्षामा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने जनाइएको छ ।

उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामाकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बीर खिच्न सक्नेछन् । अवलोकनका लागि मंसिर २८ गते आइतबार राति ८ बजेदेखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने अध्यक्ष भट्टराईले बताए ।

मौसमले साथ दिएमा उल्का वर्षा हेर्नका लागि यो सन् २०२० कै उत्कृष्ट समय हुनेछ । यो उल्का वर्षा पुस २ गतेसम्म जारी रहने जनाइएको छ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन । उल्का वर्षा अवलोकन गर्न र आफ्नो क्यामेरामा कैद गर्ने प्रयासका लागि सोसाइटीको टोली पोखरामा जाने जनाइएको छ ।

देशका अन्य भागमा रहेका सोसाइटीका सदस्यले आफ्नै स्थानबाट हेर्ने र तस्वीर लिनेछन् । अवलोकनकर्तालाई आफ्ना तस्वीर सोसाइटीलाई पठाउन समेत आह्वान गरिएको छ । सोसाइटीमा प्राप्त तस्वीरलाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७