संस्कृतिसँगै प्राकृतिक सुन्दरताको केन्द्र साल्पा सिलिचुङ (फोटो फिचर)


२८ पुष २०७७, मंगलवार
साल्पा सिलिचुङ salpa sichichhung scaled

काठमाडौं, २७ पुस । साल्पा–सिलिचुङ सांस्कृतिक र प्राकृतिक सुन्दरताको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा न. ५ रहेको साल्पा पोखरी र सिलिचुङ भोजपुरको सबैभन्दा अग्लो चुचुरो हो । साल्पापोखरी सिलिचुङको बेस क्याम्प हो । साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको छ । भने सिलिचुङ ४ हजार १ सय ५३ मिटरको उचाइमा अवस्थित छ । 

यस क्षेत्र भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङ जिल्लाको सँगमस्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलको रूपमा परिचित छ ।  सिलिचुङ चुचुरो भोजपुर र सङ्खुवासभा जिल्लाको सिमाना अवस्थित छ । जहाँबाट उत्तरतर्फ मकालु हिमाल, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आँखैमा टाँसिन्छ । 

यस्तै दुधकोसी, ल्होत्से, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिक लगायत हिमशृङ्खला सजिलै देख्न सकिन्छ ।  दक्षिणतर्फ साल्पापोखरी र सोलुखुम्बु, सङ्खुवासभा, भोजपुरका गाउँघरहरू छाङै देखिन्छन् । भोजपुर र सखुवासभा भई बहने नेपालको कै ठुलो अरुण नदीले बनाएको उपत्यका तथा फाँटहरू लमतन्न परेका देख्न सकिन्छ । यसै गरी मकालुबरुण राष्ट्रिय निकुञ्जलाई सहजै निहाल्न सकिन्छ ।

सिलिचुङमा सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदयको समयमा अरुण उपत्यका क्षेत्रमा कुहिरोको मनमोहक दृश्य देख्न सकिन्छ । यस समयमा सिलिचुङ क्षेत्र खुल्ला, सफा हुन्छ भने अरुण उपत्यका क्षेत्र कुहिरोले ढाकिएको हुन्छ । सूर्योदयसँगै बिस्तारै हराउँदै गएको दृश्यहरू देखिन्छ । दिनमा सिलिचुङ चुचुरोको छाया साल्पापोखरीमा देख्न सकिन्छ  । यस क्षेत्रको यात्रामा सयौँ प्रकार फूल तथा चराचुरुङ्गी देख्न सकिन्छ । भने विभिन्न रङका राष्ट्रिय फूल गुराँसले बाटोहरू ढपक्कै ढाँकेको हुन्छ ।  


    साल्पा–सिलिचुङ क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर छ । त्यो भन्दा कैयौँ गुणा सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ । साल्पा पोखरीलाई किरात, हिन्दु, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा मानिन्छ । जहाँ भदौरे पूर्णिमा, कात्तिके पूर्णिमा र वैशाखे पूर्णिमामा मेला लाग्छ । यस समयमा धामी झाँक्रीको बाक्लो चहलपहल हुन्छ । विशेष गरी धामीझाँक्रीहरु आफ्नो शक्ति र ज्ञान आर्जन गर्न आउने गर्छन् । साल्पापोखरीको दर्शनले ज्ञान आर्जन हुने विश्वास गरिन्छ ।

यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराइ गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन पाइन्छ ।

यस्तै तीर्थालुहरू आफ्नो मनोकामना पुरा गर्न आउने गर्छन् । पोखरीमा तिर्थालुहरू नुहाउने गर्छन् । पूजा अर्चना गर्छन् ।  साल्पापोखरीमा आफ्नो भाकल पुरा गर्न विशेष गरी परेवा उडाउने चलन छ । यी चार जिल्लामा साल्पापोखरीको दर्शनले आफ्नो मनोकामनाहरू पुरा हुने विश्वास समेत गर्छन् । र समाजमा पुरा भएको थुप्रै उदाहरणहरू रहेको समेत बताउँछन् ।

मेलाको समयमा बाहेक यस क्षेत्रमा चहलपहल शून्य रहन्छ । पछिल्लो समय ‘मुन्दुम ट्रेल’को केन्द्रबिन्दु रूपमा विकास भएसँगै चहलपहल थप वृद्धि भएको छ । सांस्कृतिक सँगै प्राकृतिक दृश्य अवलोकनको लागि प्रसिद्ध बन्दै गएको छ ।   एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा चढ्न जाँदा यही मार्ग प्रयोग गरेका थिए । भने द्वन्द्वकालीन समयभन्दा अघि यही क्षेत्रको बाटो प्रयोग गरे अधिकांश विदेशी पर्यटकहरू सगरमाथा जाने गर्दथे । अहिले पनि न्यून संख्यमा भएपछि विदेशी पर्यटक आउने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७