माघे संक्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने


२८ पुष २०७७, मंगलवार
goru Judhae newskarobar

नुवाकोट, २८ पुस । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाइ मेला हुने भएको छ ।

नुवाकोटका चार ठाउँमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । नुवाकोटमा गोरु जुधाउने चर्चित ठाउँ तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर–३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले गोरु जुधाइका कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

तारुकाका विभिन्न ठाउँमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको हो । यहाँको गोरु जुधाइ हेर्न विगतमा हजारौं दर्शक आउने गरेका थिए ।

कोरोनाका कारण यस वर्ष दर्शकमा केही कमी आउन सक्ने भए पनि परम्परालाई निरन्तरता दिनेक्रममा मेला नरोकिएको आयोजकले जनाएका छन् । यस्तै विदुर नगरपालिका–१० बेत्रावतीमा पनि सीमित रुपमा गोरु जुधाइने भएको छ । कोरोनाको कारण सीमित रुपमा मेला सञ्चालन गर्ने योजना बनाएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

यस वर्ष वरपरका चार हल मात्र गोरु जुधाइने योजना बनाएको क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले जानकारी दिए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिएर परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै संख्यामा गोरु जुधाइने योजना बनाएको उनले बताए ।

बेत्रावतीमा विजेता गोरुधनी किसानलाई पाँच हजार रुपैयाँ, हार्ने गोरुधनी किसानलाई चार हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । यस्तै पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाउने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए ।

विजेता तथा सहभागी गोरुका धनीलाई १५, १० र पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै शिवपुरी गाउँपालिका–५, शेराबगरमा चार हल गोरु जुधाइने आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७