कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै


२९ पुष २०७७, बुधबार
bank

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा धनीहरू चाँडै महाव्याधीको संकटबाट बाहिर निस्कने देखाएको छ । उक्त प्रतिवेदनले लकडाउन खुलेसँगै ठूला पुँजी भएका उद्योग एवं व्यवसायको पुनरुत्थान छिटो भएको देखाएको हो ।

कोभिड महामारीका कारण सानो पुँजी र स्थानीय प्रविधिमा आधारित घरेलु व्यवसाय भने सबैभन्दा बढी प्रभावित देखिएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी पुनरावृत्ति सर्वेक्षणले यस्तो देखाएको हो । उक्त सर्वेक्षण प्रतिवेदनअनुसार गत असारमा घरेलु उद्योगहरू सबैभन्दा ज्यादा प्रभावित भएका थिए । १५ करोडभन्दा कम स्थिर पुँजी भएका साना व्यवसायको अवस्था पनि त्यस्तै नाजुक थियो ।

गत मंसिरमा पनि झण्डै १७ प्रतिशत घरेलु उद्योग र करिब १४ प्रतिशत साना व्यवसाय सञ्चालनमा आउनै नसकेको सर्वेक्षणमा पाइएको छ । जबकि ५० करोडभन्दा माथिका ठूला उद्योग व्यवसायमध्ये केवल ८ प्रतिशतजति सञ्चालन हुन नसकेको देखिन्छ । त्यसमा पनि होटेल तथा रेस्टुरेन्ट व्यवसायको बाहुल्य छ ।

‘हामीले पुनर्कर्जा र आपत्कालीन थप कर्जा सहायताजस्ता सुविधा त दियौं’, राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘धनीमानी अर्थात् ठूलो पुँजीमा सुव्यवस्थित व्यवसाय सञ्चालन गर्नेले मात्रै यस्ता सुविधाबाट लाभ लिन सके ।’ साना तथा घरेलु व्यवसाय भने अहिले पनि कोभिडको असरबाट माथि उठ्न कठिन भएको ती अधिकारी बताउँछन् । राष्ट्र बैंकले कोभिडको असरबाट बच्न ब्याज सहुलियत दिने, १० प्रतिशत ऋण थपिदिने र पुनर्कर्जा जस्ता सुविधाबाट संरक्षित गर्ने योजना अघि सारेको थियो ।

लकडाउनका बेला ठूला व्यवसायले ठूलै आकारमा क्षति व्यहोर्न परेको भन्दै व्यावसायिक संस्थाहरूले बृहद् राहत कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका थिए । तर पछिल्लो सर्वेक्षणले उनीहरू धेरै हदसम्म कोभिड–१९ को असरबाट बाहिर निस्किसकेको देखाएको छ । बरु साना र खुद्रा व्यवसाय एवं घरेलु उद्योगहरू भने अझै समस्यामा देखिएका छन् । बैंक वा फाइनान्स कम्पनीजस्ता औपचारिक वित्तीय बजारमा सहज पहुँच नपुगेका गरिब उद्यमीलाई उकास्न अझै नवीनतम् कदम चाल्नुपर्ने आवश्यकता देखिएको विज्ञले बताएका छन् ।

प्रतिवेदनले मंसिरसम्म पनि नेपालमा भएका होटेल तथा रेस्टुरेन्टमध्ये १८ प्रतिशत मात्र सञ्चालन भएको देखाएको छ। यसले पर्यटन उद्योगमा ठूलो असर पार्ने देखिन्छ । विद्युत्, ग्यास र पानीको व्यवसाय भने लगभग पुरानै लयमा फर्किसकेको सर्वेक्षणमा देखिएको छ ।

कोरोना महामारीपछि श्रमिकको आम्दानीमा पनि बिस्तारै सुधार भएको देखिएको छ । राष्ट्र बैंकका अनुसार चैतअघि एक सय रुपैयाँ ज्याला वा पारिश्रमिकमा खर्चने कम्पनीले असारमा ६३ रुपैयाँ मात्रै तिरेका थिए । मंसिरमा यस्तो रकम बढेर ७० रुपैयाँभन्दा बढी भएको छ । अर्थात् कम्पनी तथा फर्महरूले तलब र ज्यालाका लागि चैतअघिको तुलनामा गत मंसिरमा ७०.३९ प्रतिशत रकम खर्च गरेका छन् । तर सञ्चार क्षेत्रमा भने तलब तथा ज्याला भारी मात्रामा घटेको प्रतिवेदनमा देखिन्छ ।

चैतअघि सञ्चार क्षेत्रमा १०० रुपैयाँ तलबमा खर्चने कम्पनीले मंसिरमा ५९ रुपैयाँ मात्रै खर्चेको पाइएको छ । बरु असारमा झन्डै ६० रुपैयाँ खर्चिइएको थियो । यसले सञ्चार क्षेत्रका श्रमिकलाई कोरोनाले सबैभन्दा बढी असर पारेको देखाएको छ । खानीजन्य उद्योग र शिक्षा क्षेत्रका मजदुरको आम्दानी पनि असारयता घटेको देखिएको छ।

राष्ट्र बैंकले असोजपछि उद्योग व्यवसायको सञ्चालन, कारोबार, उत्पादन र रोजगारी बढे पनि कोभिडअघिकै अवस्थामा फर्कन भने नसकेको बताएको छ। सर्वेक्षणमा समष्टिगत माग नै घटेका कारण पुनरुत्थानमा समय लाग्ने उल्लेख छ । प्रतिवेदनका अनुसार उद्यमी व्यवसायीले सञ्चालन खर्च धान्न गाह्रो परेको र थप ऋण लिन पनि कठिनाइ झेल्नु परेको बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७