राष्ट्रपतिले जनताको नासो फर्काउनु पर्छ : अधिवक्ता अर्याल


८ माघ २०७७, बिहीबार
omprakash aryal

काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको निरन्तर सुनुवाइको पाँचौं दिन (बिहीबार) पनि संवैधानिक इजलासमा बहस जारी छ । निवेदकका कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

विगतमा राष्ट्रप्रमुखले संविधान विपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने तर्क गरेका हुन् । ‘राष्ट्रपति स्वयंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ । राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नु हुन्छ । संसद्लाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ,’ उनले भने ।

rit

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता नलिए सभामुख अग्निप्रसाद सापकोटा र सांसदहरूले आफूमा रहेको अधिकार प्रयोग गरेर संसद् सुचारु गर्न सक्ने अर्यालले तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनको निर्णय राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै रहेको तर राजपत्रमा प्रकाशित नगरिएको अर्यालको भनाइ छ । उनले भने, ‘सूचना राजपत्रमा आएको छैन । विगतका सूचना राजपत्रमा आउने गरेका थिए । प्रतिनिधिसभा विघटनको सूचना भने राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै आएको छ ।’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानविपरीत कार्यकारी अधिकार आफूमा लगेको र पछि ‘जनताको नासो जनतालाई फिर्ता गरेको’ उदाहरण दिँदै उनले राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने बताए ।

२०१५ सालको संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था रहेको भए पनि त्यति बेला अर्कै संकटकालीन व्यवस्थाको धारा लगाएर दुवै सदन विघटन गरिएको र व्यवस्था नै गुमेको अर्यालले उदाहरण दिएका थिए । २०४७ सालको संविधानको धारा ५३ (४) मा प्रतिनिधिसभा विघटनको व्यवस्था रहेको र सोहीबमोजिम चार पटक प्रतिनिधिसभा विघटन प्रस्ताव आएको बताउँदै उनले अहिलेको संविधानमा त्यस्तो व्यवस्था नरहेको बताए ।

अहिले कार्यकारी प्रमुख संविधानविपरीत चलेर प्रतिनिधिसभा विघटन गरेको र संविधानको मृत्युको कारण बनिरहेको अर्यालले बताए । प्रधानमन्त्रीले संवैधानिक शक्ति सन्तुलनलाई पनि ख्याल नगरेको उनको भनाइ छ ।

संविधानको धारा ७६ मा सरकार गठनको विषयमा मात्रै उल्लेख गरिएको र धारा ८५ ले प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुने व्यवस्था स्पष्ट रूपमा राखेको अर्यालले बताए । ’पार्टीभित्र पनि अरु विकल्प खोज्न सकिन्छ । संसद्मा पनि अरु विकल्प खोज्न सकिन्छ । एकै व्यक्ति ५ वर्षको कार्यकाल भन्ने छैन,’ उनले भने । अहिलेको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क राखे ।

प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन राष्ट्रपतिले नमाने सभामुख र सांसदहरूले आत्मरक्षाको अधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । ’आत्मरक्षाको अधिकार प्रयोग गरी सभामुख र सांसदले संसद् आह्वान गर्नु संविधानवाद अनुकूल हुन्छ,’ उनले भने ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधानका असम्बन्धित धाराको प्रयोग गरेर यस्ता निर्णय फेरि नगर्नू भनेर सर्वोच्च अदालतले सचेत गराउनुपर्ने पनि अधिवक्ता अर्यालको माग थियो । विगतका संविधान र अहिलेको संविधानमा संसद् विघटनसम्बन्धी व्यवस्था नितान्त फरक रहेकाले सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि अहिलेको संविधान हेरेर फैसला गर्न अर्यालले आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७