एक महानगर र पाँच उपमहानगरसहित १२५ बढी ‘गाउँका सिंहदरबार’ निमित्तकै भरमा


१५ माघ २०७७, बिहीबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, १५ माघ । एक महानगर र पाँच उपमहानगरसहित १ सय २५ भन्दा बढी गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिका, दाङका तुलसीपुर र घोराही, बाराका कलैया र जितपुरसिमर अनि कैलालीको धनगढी उपमहानगरपालिका निमित्तकै भरमा चलिरहेका हुन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोग पास गरेर आउनेलाई पहिलो प्राथमिकतामा राखी स्थानीय तहमा पठाउने तयारी रहेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनप्रतिनिधिलाई मनपरी गर्न सहज भइरहेको जनाइएको छ । स्थानीय तहकै पुराना कर्मचारीलाई निमित्त राखेर उनीहरूले आफूअनुकूल खर्च गर्ने गरेका छन् । विशेषगरी प्रदेश २ का स्थानीय तहमा ‘प्रमुख प्रशासकीय अधिकृत नपठाई दिनू, फलानोलाई निमित्त दिनुस्’ भनेर जनप्रतिनिधि डेलिगेसन आउने गरेको मन्त्रालय स्रोत बताउँछ ।

‘निमित्तबाट काम चलाउँछु, कन्फर्म हाकिम नपठाई दिनू भन्ने स्थानीय तहका पदाधिकारी प्रशस्तै छन्’, एक सहसचिवले भने, ‘प्रदेश २ बाट सबैभन्दा बढी केस लिएर आउनुहुन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा अलिअलि छ ।’

मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई जनप्रतिनिधिले हाजिर हुन नदिने तथा निमित्त भई काम गरिरहेका कर्मचारीले पनि जनप्रतिनिधिसँग मिलेर हाजिर हुन अवरोध गर्ने गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७