मनाङको थोचे जङ्गलमा डढेलो, मानव बस्ती जोगाउनै हम्मेहम्मे


१५ माघ २०७७, बिहीबार
dadhelo 3

मनाङ, १५ माघ । मनाङ नासो गाउँपालिकाको थोचे जङ्गलमा मङ्गलबार रातिदेखि लागेको डढेलो निभाउन सकिएको छैन सकेको छैन ।

डढेलोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली डढेला निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोंचे खतरामुक्त रहेको छ ।

डढेलो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उनले बताए । उनले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताए ।

dadhelo 1 1

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा डढेलो भएको छ । धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छ । यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । भिरालो भौगोलिक बनावटका कारण डढेलो निभाउन कठिन भएको उनको भनाइ थियो ।

डढेलोेको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि १०० जनाको टोली डढेलोे निभाउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनले भने, ‘अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा १०० मिटर टाढा मात्रै डढेलोे छ ।’ उनले नयाँ दाउरा घाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का व्यक्त गरे ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताए । उनले ताचैभन्दा माथिको लेकमा लागेको डढेलोे भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको बताए । गौतमले भने, ‘अहिले पनि हामी डढेलोेसँग आगो जुधाएर निभाउने प्रयास गर्दैछौं ।’ यसैबीच सदरमुकाम चामे नजिकै तलेखुमा लागेको डढेलोे निभाइएको गौतमले जानकारी दिए ।

यसैबीच थोचे, तिल्चे र ताचैको वनमा डढेलोे दन्कन थालेपछि स्थानीयवासीहरूले त्रसित भएको बताएका छन् । डढेलोसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुटी नष्ट हुने भन्दै उनीहरुले जङ्गली जनावरको बास उठेकोमा चिन्ता व्यक्त गरेका छन् । अग्ला पहाडमा रहेको जङ्गलको डढेलोले मानव बस्तीलाई जोगाउनु बाहेक निभाउन गर्न कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मंसिर ११ गतेदेखि लागेको डढेलो पूर्णरूपमा निभाउन नपाउँदै फेरि डढेलो लाग्नुले मनाङका जङ्गल जलेर सकिने हो कि भन्नेमा पीर परेको स्थानीय वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताए । किन र कसले डढेलो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७