त्रिभुवन आर्मी प्रधानमन्त्री कपको उपाधि नजिक {भिडियो}


१५ माघ २०७७, बिहीबार
nepal army vs bagmati province 1 scaled

काठमाडौं, १५ माघ । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल टियु मैदानमा शनिबार हुनेछ ।

आर्मीले चौथो पटक फाइनलमा स्थान बनाएको हाे । जितका लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको बागमती ४०.२ ओभरमा १ सय ३५ रनमा अल आउट भयो । बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले ६० बलमा ४ चौका सहित सर्वाधिक ४७ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले सम्झन लायक प्रर्दशन गर्न सकेनन् ।

विक्रम सोबले पहिलो ओभरको तेस्रो बलमा ओपनर आकाश थापालाई हरि चौहानबाट शून्यमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । छैटौं ओभरको दोस्रो बलमा जितेन्द्र मुखियाले अर्का ओपनर आदिल खानलाई १० रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराएपछि लगातार विकेट गुमाउन पुगेको थियो । लगत्तै सातौं ओभरको दोस्रो बलमा विक्रमले पृथु बास्कोटालाई एक रनमा एलविडब्लू आउट गरे ।

आठौं ओभरको पहिलो बलमा विभत्सु थापालाई मुखियाले ४ रनमा राजेश पुलामीबाट क्याच गराए । तीन बलपछि ईशान पान्डे शून्यमा एलबिडब्लू आउट भएपछि बागमती १८–५ को कमजोर अवस्थामा पुगेको थियो । ज्ञानेन्द्र र विपिनले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै केहि आशा देखाएका थिए ।

तर २२ औं ओभरको दोस्रो बलमा सुशन भारीले विपिनलाई २३ रनमा स्टम्पिङ आउट गरेपछि बागमतीको जितको सम्भावना टाढिएको थियो । विपिनले ४७ बलमा ३ चौका प्रहार गरे । भारीले २८ औं ओभरको पाँचौं बलमा ज्ञानेन्द्रलाई एलबिडब्लू आउट गरेपछि बागमतीको झिनो आशा पनि सकिएको थियो ।

३०.३ ओभरमा ११२-९ को अवस्थामा पुगेको बागमतीलाई नन्दन यादव र तिलकराज भण्डारीले ४१ ओभर सम्म पुर्याएका थिए । तल्लोक्रममा रामनरेश गिरी ६ र गौतम केसी ७ रनमा आउट भए । नन्दन यादव ५२ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

जितेन्द्र मुखियाले ८.२ ओभरमा एक मेडन सहित २४ रन खर्चेर ४ विकेट लिए । सुशन भारीले १० ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ३ विकेट लिए । विक्रम सोबले १० ओभरमा ५ मेडन सहित २५ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मी ५० ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो । खराब सुरुवात गरेको आर्मीका राजेश पुलामीले ९१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिएका थिए।

राजेशले ७१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ४३ औं ओभरको चौथो बलमा स्पिनर विपिन आचार्यलाई लङअनमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । आर्मी एक समय २६।४ ओभरमा १०६–६ को खराब अवस्थामा पुगेको आर्मीलाई सातौं विकेटका लागि विक्रम सोब र राजेश पुलामीले ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर रामनरेश गिरीले सोबलाई आकाश थापाबाट ३५ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । विक्रमले ५८ बलमा ३ चौका प्रहार गरे । बागमतीलाई युवा तीव्र गतिका बलर गौतम केसीले चौथो ओभरमा दुई विकेट लिदै राम्रो सुरुवात दिलाएका थिए । गौतमले तेस्रो बलमा ओपनर अनिल मण्डललाई २ रनमा बोल्ड आउट गरे ।

  • nepal army vs bagmati province 2
  • nepal army vs bagmati province 3
  • nepal army vs bagmati province 4

एक बलपछि रोहित कुमार पौडेल पनि शून्यमा बोल्ड आउट भएपछि ५–२ को अवस्थामा पुगेको थियो । रोहित ब्याटको किनरामा लाग्दै बोल्ड आउट हुन पुगेका थिए । गौतमकै अर्को ओभरमा हरि चौहान ३ रनमा कट बिहाइन्ड भएपछि आर्मी दयनीय अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि लोकेश बम र भिम सार्कीले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । लोकेशलाई १९ औं ओभरको दोस्रो बलमा नन्दन यादवले पृथु बास्कोटाबाट २३ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए ।

लोकेशले ३० बलमा २ चौका र १ छक्का सहित २३ रनको योगदान दिए । तिलकले २२ औं ओभरको तेस्रो बलमा भिम सार्कीलाई ४० रनमा विकेटकिपर आकाश थापाबाट क्याच गराउँदै बागमतीलाई पुनः खेलमा फर्काएका छन् । भिमले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि लोकेशले ब्यक्तिगत १६ रनमा जीवनदान पाउँदा आर्मी नौं ओभरमा ३६–३ को कमजोर अवस्थामा थियो । नन्दन यादवको नवौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका उनलाई ईशान पान्डेले डीप मिडविकेटमा क्याच छोड्दै जीवनदान दिएका थिए ।

विपिनको बलमा ठूलो सट खेलेका विनोद लङअनमा नन्दन यादवबाट १० रनमा क्याच आउट हुन पुगेका थिए । विनोद आउट भएसँगै खराब सुरुवात गरेको आर्मीलाई राजेश र विक्रमले उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासेका थिए । सुशन भारी ११ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे ।

युवा तीव्र गतिका बलर गौतम केसीले १० ओभरमा १ मेडन सहित ६१ रन खर्चेर ५ विकेट लिए । रामनरेश गिरी, नन्दन यादव, तिलकराज भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए ।

आर्मीले उपाधिको लागि एपिएफसँग शनिबार खेल्ने छ । एपिएफले पहिलो सेमिफाइनलमा पुलिसलाई ३० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७