भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो


१९ माघ २०७७, सोमबार
oil

काठमाडौं, १९ माघ । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) का अनुसार यस अवधिमा नेपालबाट रू. १७ अर्बको भटमासको तेल निर्यात भएको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालले रू. ४ अर्बको भटमासको तेल निर्यात गरेको थियो ।

यस अवधिमा अघिल्लो वर्ष शीर्षस्थानमा रहेको पाम तेलको निर्यात भने २७ औं नम्बरमा पुगेको छ । अघिल्लो आवको पहिलो ६ महीनामा रू. १३ अर्ब ८९ करोडको पाम तेल निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू. ४ लाखको मात्रै निर्यात भएको छ ।

पाम तेलको निर्यात आव २०७५–७६ को शुरूदेखि नै बढ्दै गएको थियो । अघिल्लो वर्ष पुस अन्तिम साता भारतले कुल निर्यातको करीब २४ प्रतिशतसम्म अंश रहेको पामको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो । नेपालका लागि पाम र भटमासको तेलको बजार भारत हो ।

नेपाली व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पाम आयलको आयात गरी प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका थिए । भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले पामको सट्टा भटमासको तेलको उद्योगमा भटमासको तेलको उत्पादन गर्न शुरू गरेका हुन् ।

भारतले प्रतिबन्ध लगाउनुअघि वीरगञ्ज र विराटनगर गरी १८ ओटा उद्योगबाट व्यवसायीले ८० प्रतिशतसम्म पाम र बाँकी भटमासको तेल उत्पादन गर्ने गरेका थिए । भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीले पामको विकल्पको रूपमा भटमासको तेललाई अघि सारेका हुन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७