युद्धमा नहारेको देश डल्ला फ्याँक्नेमा किन हार्ने ? : प्रधानमन्त्री


२१ माघ २०७७, बुधबार
3

काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी ओली शर्माले खुकुरीकै भरमा समेत लडाइँमा परास्त नभएका नेपाली खेलकुद मैदानमा पनि पराजित हुनु नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार प्रज्ञा भवनमा आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्रीको अन्तक्रिया ’का क्रममा उनले युद्धमा जस्तै मैदानमा पनि नेपाली खेलाडी हार्न नहुने बताएका हुन् ।

‘अंग्रेजसँगको लडाइँ खुकुरीकै बलमा नेपालीले जित्ने, तर खेलमा हामी किन हार्नुपरेको हो ?,’ उनले भने, ‘फुटबलमा साना डल्ला भकुन्डो हान्ने र क्रिकेटमा बलले हान्ने त हो नि ।’ नेपाल कहिल्यै अरूको उपनिवेशमा नरहेको बताउँदै उनले खेलकुदमा पनि जित्ने बानी बसाल्नुपर्ने जनाए । ‘हामी कहिल्यै उपनिवेश नबनेको राष्ट्र, कहिल्यै नहारेको नेपाल किन यत्रा–यत्रा डल्ला फ्याँक्ने खेलमा हार्ने, सितेरियो, कराते, कम्फु र भारोत्तोलनमा किन हामी हार्ने ?,’ खेलाडीलाई आत्मविश्वासी बनाउँदै प्रधानमन्त्री ओलीले भने ।

परिषद्ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनुअघि नै यो कार्यक्रम तय गरेको थियो । तर, त्यसवेला प्रधानमन्त्री अस्वस्थ भएपछि रद्द भएको थियो । परिषद्ले १४ महिनापछि अन्तत्र्रिmयाको अवसर मिलाएको हो । राखेपले आयोजना गरेको अन्तत्र्रिmयामा प्रधानमन्त्री ओलीले राजनीतितर्फ प्रतिक्रिया नगर्ने बताएका थिए । तर, प्राप्त मौकामा व्यंग्य गर्न भने उनी पछि परेनन् । उनले बारम्बार घुमाउरो रूपमा पूर्व प्रधानमन्त्रीद्वय (प्रचण्ड–नेपाल) माथि टिप्पणी गरिरहे ।

सधैँ दोस्रो हुन कहाँ लेखिएको छ ?
कार्यक्रममा प्रधानमन्त्री ओलीले गत वर्ष नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको प्रशंसा गरेका थिए । सागमा प्राप्त उपलब्धि अहिलेसम्मकै असाधारण, उत्कृष्ट र स्मरणीय भएको ओलीको जिकिर थियो । ओलीले भने, ‘यसको निरन्तरता आउँदो दिनमा पनि भइरहनुपर्छ ।’

प्रधानमन्त्री ओलीले १३ औं सागमा प्राप्त ५१ स्वर्णको अर्थ पदकसँग मात्र दाँज्न नहुने स्पष्ट पारेका छन् । सागमा नेपाल सधैँ दोस्रो स्थान मात्र हात पार्ने र पहिलो स्थानमा कहिल्यै पुग्न नहुने कहीँ नलेखेको जनाए । आउँदो दिनमा नेपाल पहिलो स्थानमा रहन खेलाडीले थप मिहिनेत गर्नुपर्ने उनले औँल्याए ।

क्षमतावान् खेलाडी मात्र छनोट गर्न आग्रह
चार वर्षअघि भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ सागमा नेपाली खेलाडीको मिहिनेत कम भएको र प्राविधिक रूपमा समेत कमजोर भएकाले तीनवटा मात्रै स्वर्णपदक जितेको प्रधामन्त्री ओलीले स्मरण गराए । ‘गुवाहाटीमा भएको १२औँ सागमा हामीले किन तीन स्वर्ण पदक मात्रै हासिल गर्‍यौँ ?, यसको एक मात्र जवाफ छ, त्यो हो हाम्रो मिहिनेत पुगेन ।’ उनले भने ।

राखेपमा आबद्ध संघ तथा संस्थाका पदाधिकारी र प्रशिक्षकहरूलाई क्षमताअनुसार मात्र खेलाडी छनोट गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । भन्छन्, ‘यहाँ राम्रो नतिजा निकाल्ने खेलाडी पछि पर्छन्, क्षमता नभएका खेलाडी अन्तर्राष्ट्रिय मैदानमा जान्छन्, यसले नतिजामा पक्कै असर गर्छ, क्षमतावान् खेलाडी मात्र छनोट भए ठुल्ठूला नतिजा हात पार्न सक्छौँ ।’

‘मूलपानी रंगशाला अझै सम्पन्न भएको छैन ?’
निर्धारित समयभन्दा डेढ घन्टा ढिलो कार्यक्रमस्थलमा आइपुगेका प्रधानमन्त्री ओलीले करिब एक घन्टाभन्दा बढी बोलेका थिए । प्रधानमन्त्रीले आफ्ना भनाइ सकेपछि उपस्थितिबाट आएका प्रश्नको जवाफ दिएका थिए ।

त्यसमध्ये एकजनाले मूलपानी रंगशालाबारे पनि प्रश्न गरेका थिए । ‘मूलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ? यो लिखित प्रश्न हेर्दै प्रधानमन्त्री ओली एकछिन मौन रहे । उनले भने, ‘ओहो ! अझै मूलपानीको रंगशाला बनिसकेको छैन ।’

प्रधानमन्त्री ओलीबाट यस्तो उत्तर आएपछि प्रज्ञा भवन हाँसो गुञ्जायमान भयो । नजिकै रहेका सदस्यसचिव रमेश सिलवालले मूलपानी रंगशाला दुई वर्षभित्र सम्पन्न हुने प्रधानमन्त्रीलाई जवाफ दिए । त्यसपछि ओलीले भने, ‘अझै दुई वर्ष लाग्छ, धेरै वर्ष भइसक्यो, होइन ? अझैसम्म बनेको छैन भन्दा अच्चम्म र छक्क लाग्यो, विश्वास गर्नुस् अब छिट्टै बन्छ ।’

मानपदवी कसैले पाएनन् ?
केही महिनाअघि सरकारले दिएको मानपदवीमा १३औँ सागका पदक विजेताले केही पदवी नपाएको प्रश्न पनि उठेको थियो । मानपदवीमा विभेदसम्बन्धी प्रश्नमा प्रधानमन्त्री ओलीले अनभिज्ञता देखाए । उनले भने, ‘साँच्चै कसैले पाएनन् ? आगामी दिनमा ध्यान दिउँला ल ।’ यसैगरी, राखेपमा २० देखि २५ वर्षसम्म कर्मचारी बढुवा नभएको विषयमा पनि उनले अनभिज्ञता प्रकट गरे ।

‘बढुवा किन भएन ठाउँ नै रहेनछ कि क्या हो ?,’ प्रधानमन्त्री ओलीको यस्तो उत्तर आउँदा पुनः एकपटक हल हाँसोले भरियो । परिषद्का सदस्यसचिव सिलवालले पनि ०६३ सालदेखि बढुवा रोकिएको जानकारी गराए । प्रधानमन्त्रीले सोधे, ‘२०–२५ वर्षदेखि बढुवा भएको छैन ?’ त्यसपछि कर्मचारी र प्रशिक्षक बसेको लाइनबाट ‘बढुवा नभएको एकै स्वरमा उत्तर आयो, छैन बढुवा ।’

प्रधानमन्त्री ओलीले तत्कालै यसबारे पूर्ण रिपोर्ट पेस गर्न खेलकुदमन्त्रीलाई निर्देशन दिए ।
राखेपमा खेलकुदमन्त्री, सदस्यसचिव तथा उपाध्यक्षले आफ्ना मान्छे भर्ना गर्ने परम्परा रहेकोतर्फ पनि प्रधानमन्त्री ओलीले औँल्याए । यस्तो किसिमको प्रवृत्ति हाबी हुँदा एक दिन राखेप जनकपुर चुरोट कारखाना जस्तै हुने उनको भनाइ थियो ।

बजेट बढ्छ
प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने विश्वास पनि कार्यक्रममा दिलाए । कोरोनाका कारणले चालू आर्थिक वर्षमा बजेट घटेको उनले जानकारी दिए ।

‘सन् २०२१ भित्रै कोरोना लखेट्छौँ । अहिले हामीसँग हतियार छ, कोरोनाको खोप दिनदिनै लगाइरहेका छौँ, यो हतियारसँगै हामी कोरोना भगाउँछौँ र पहिलेको भन्दा बजेट बढेर आउँछ, ’ उनले भने, ‘कतिपय स्थानमा एकपटक बजेट छुट्याएपछि फेरि दिनुपर्दैन । जस्तो कि, रंगशाला बनेपछि फेरि दिनुपर्दैन, सरकारको गच्छेअनुसार विना कन्जुस्याइँ बजेट छुट्टिन्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७