महन्थ ठाकुर र राजकिशोर यादव दिल्ली प्रस्थान, बढ्यो राजनीतिक चासो


२६ माघ २०७७, सोमबार
thakur

काठमाडौं, २६ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव आज (सोमबार) भारतको दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका हुन् भने कार्यकारिणी सदस्य यादव काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् ।

देशमा राजनीतिक संक्रमण बढिरहेको बेला जसपा नेपालका दुईजना नेता दिल्ली जानुलाई चासोका साथ हेरिएको । तर उनीहरु निकट नेताहरुले भ्रमण राजनीति नभएर व्यक्तिगत तथा परिवारिक रहेका दावी गरेका छन् । अध्यक्ष ठाकुर नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको र कार्यकारिणी सदस्य यादवको पनि व्यक्तिगत भ्रमण रहेको उनीहरुको निकट स्रोतको दावी छ ।

जसपा नेपालका नेता डा.सुरेन्द्र झाले भने, ‘अध्यक्ष ठाकुरको मुटुमा पेस मेकर लगाइएको छ, चार– पाँच महिनाअघि नै त्यसको नियमित जाँचका लागि दिल्ली जानुपर्ने थियो । तर कोरोनाका कारण जानसक्नु भएन, चार महिनाअघि नर्भिकमा देखाउनु भएको थियो अहिले पुनः त्यसैको चेकअपका लागि उहाँ दिल्ली जानु भएको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभिन्न पक्षले आन्दोलन गरिरहेका छन् । भारत र चीनले छिमेकी देश भएको नाताले नेपालको राजनीतिलाई गम्भीरतापूर्वक हेरेका छन् ।

संसद विघटनको बारेमा दुवै देशले आफ्नो कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपी ती देशले देखाएका विभिन्न संकेतले चीन संसद् विघटनको विपक्षमा र भारत संसद् विघटनको पक्षमा देखिएको टिकाटिप्पणी भइरहेको छ ।

उसो त जसपा नेपालमा पनि चुनाव कि पुनर्स्थापना भन्नेमा दुई धार देखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिँदै आएका छन् भने अध्यक्ष ठाकुर पक्षधर नेताहरुले संसद पुनर्स्थापनाले मात्र समस्या समाधान नहुने भएकाले चुनावको तयारी पनि गर्नुपर्ने भनेका छन् । जसपा नेपालका अध्यक्ष ठाकुर पक्षका नेताहरु सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने पक्षमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७