काठमाडौं, २९ माघ । प्रतिगमनविरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई अब झ्यालखानाको संख्या थप्न चुनौति दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कांग्रेस केन्द्रीय सदस्य थापाले सरकार कर्तव्य निर्वाह गर्न छोठेर असंवैधानिक र अलोतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् । उनले उहिले महाराजाले गर्ने काम अहिले राष्ट्रपतिले गरेको भन्दै आक्रोश पोखेका छन् । उनले लेखेका छन् सरकार झ्यालखानाको संख्या थप, किनकी सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’
नेकपा नेतृ झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले आज उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो । नेतृ झाँक्रीले गोरखामा आयोजित सभामा दिएको अभिव्यक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन भएको आरोप लगाइएको छ । उनले गोरखामा राष्ट्रपति कुनै एउटा पार्टीको एउटा गुटको जस्तो गरी सक्रिय देखिन नहुने बताएकी थिइन् ।