शिक्षकको यातनापछि बिरामी बालकको मृत्यु


३० माघ २०७७, शुक्रबार
death photo1

झापा, ३० माघ । झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ । शिक्षकको कुटाइबाटती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

कनकाई नगरपालिका-६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । उनी कक्षा ४ मा अध्ययनरत थिए ।

राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते राजवंशीलाई कुटपिट गरेका थिए ।

शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो । मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो । घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन् । तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए । त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए ।

बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्‍याइएको जानकारी विद्यालयका एक शिक्षक दिए । उनले भने, ‘बच्चाको कान सुन्निएको छ । ठूलो अस्पतालमा लैजानु भनेपछि बिर्तामोडस्थित बी एन्डसी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । तर, अस्पताल पुर्‍याएर उपचार सुरु गरे लगत्तै विद्यार्थीको मृत्यु भयो ।’

‘रविन सरले पढाउने क्रममा ‘ह्वाट इज योर ग्रेन्डफादर नेम’ भनेर सोध्नु भएको रहेछ’, ती शिक्षकले भने, ‘विद्यार्थीले जवाफ दिन नसकेपछि कान तान्नु भएको भन्ने सुनिएको हो । आफूले देखेको छैन । के कारणले विद्यार्थीको मृत्यु भयो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ । सुन्दैछु निमोनियाले गर्दा बच्चाको निधन भएको हो ।’

बी एन्ड सी अस्पताल बिर्तामोडले नोबेलमा रिफर गरेपछि विद्यालयले बालकलाई उपचारका लागि ३० हजार रुपैयाँ दिएको थियो । त्यसपछि मात्र बालकको परिवारले उनलाई २८ गते नोबेल अस्पताल लगेका थिए । अस्पतालमा भर्ना भएका बालकलाई साधारण बेडमा अक्सिजन दिएर राखिएको थियो । त्यसको आधा घण्टापछि नै उनको मृत्यु भएको स्थानीय छिमेकी कृष्ण पौडेलले बताए ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाका अनुसार शिक्षकले सामान्य कान मोले पनि बालकको पुरानै बिरामी निमोनियाका कारण मृत्यु भएको दाबी गरे । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले शिक्षकको पिटाइबाट विद्यार्थीको मृत्यु भएको भन्ने खबर आएपछि शिक्षकलाई पनि सोधपुछका लागि अहिले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ ।

आचार्यले भने, ‘उक्त घटनाको बारेमा बिहीबार साँझसम्म उजुरी परेको छैन । उजुरी आएपछि मात्र घटनावारे थप अनुसन्धान गरिनेछ ।’ विद्यालयमा शिक्षक कम भएको समयमा मगरलाई विद्यार्थी नियन्त्रण गर्न र पढाउन जिम्मेवारी दिने गरेको पाइएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७