भागरथी हत्याकाण्ड : भानदेवलाई पछुतो लागेको त्यो दिन


४ फाल्गुन २०७७, मंगलवार
bhagarathi tUKnbr3loj 1

बैतडी, ४ फागुन । बैतडी दोगडाकेदार गाउँपालिका-७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन् । उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन् ।

त्यस दिन विद्यालयको पोसाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने । कपाल पनि लामो भएको छ काटेर आउनू भने । ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिने बित्तिकै विद्यालयबाट निस्के । भागरथी कक्षा १२ मा व्यवस्थापन संकायकी विद्यार्थी थिइन् । उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो ।

भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे । सैलुन विद्यालयबाट पाँच मिनेटको पैदल दूरीमा पर्छ । उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे ।

त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो । ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी । हामीले कपाल काटेर आउँछौं भन्यौं । उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी’, भानदेवले स्मरण गरे ।

भानदेवलाई त्यसै दिनको पछुतो छ । ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’, उनले भने । यी सबैको घर आउने बाटो भनेको भागरथीको हत्या भएको स्थान लवलेक वन हो । लवलेक वन क्षेत्र सकिने बित्तिकै फरक फरक गाउँ जाने बाटो आउँछन् । तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो ।

भानदेवसहितका तीनै जनालाई भागरथीले चाउचाउ किनेको र भीरकट्याको डाँडोमा बसेर खाएको थाहा छैन । ‘हामी त, सैलुनमा छिरिहाल्यौं, त्यसपछि भागरथीका बारेमा केही थाहा भएन’, भानदेवले भने । भागरथीको बलात्कारपछि हत्या घटनाको अनुसन्धान पनि अहिले त्यही भीरकट्याको डाँडो आसपासमै रुमल्लिरहेको छ ।

त्यस दिनको पछुतो सहपाठीहरूलाई मात्रै होइन, आफन्तलाई पनि त्यतिकै छ । आमा द्रोपती पछुताउँदै भन्छिन्, ‘त्यही दिनको ३, ४ बजेतिर लवलेक वनतिर खोज्न गएको भए सायद यस्तो हुन्थेन कि ?’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७