मृत्तकको ठाउँमा अर्कै व्यक्तिको फोटो, कीर्ते फाइल खडा गरेको भन्दै आफन्तको प्रदर्शन


१० फाल्गुन २०७७, सोमबार
IMG 20210221 204207

मोरङ, १० फागुन । मोरङको उर्लाबारीमा शंकास्पद रुपमा मृत्यु भएका एक व्यक्तिको मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतक भनी अर्कै व्यक्तिको फोटो राखेको पाइएको छ ।
उर्लाबारी नगरपालिका– ५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

३१ वर्षीय बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । आफन्तले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय मोरङमा बुझाएको थियो ।

उक्त घटना अनुसन्धानका लागि प्रहरीले उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेलीलाई पक्राउ गरेको थियो । तर सरकारी वकिलको कार्यालयले मिसिल अध्ययनपछि मुद्दा चलाउन नमिल्ने भन्दै माघ २ गते रणपहेलीलाई हाजिरी जमानीमा छाडेको थियो ।

मृतककी बहिनी सदीक्षाका अनुसार मिसिलमा मृतक दाजुको भनेर तीन वटा फोटो राखिएको थियो, जसमध्ये एउटा फोटो अर्कै व्यक्तिको थियो । मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तको आरोप छ ।

फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाएपछि आरोपीहरुलाई मुद्दा नचलाएको आफन्तको दाबी छ । प्रवीणको मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै आइतबार दिनभर प्रदर्शन गरेका आफन्त र स्थानीयबासीले सोमबार पनि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले आइतबार फोटो मिस प्लेस भएको स्वीकार गरेका थिए ।

सदीक्षाले आफूले फोटो किन बेग्लै राख्नुभयो भन्दा प्रहरीले हतार हतार मिसिलमा रहेको फोटो र कागजात परिवर्तन गरेको बताइन् । प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै उनले प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै सडकमा आउनु परेको बताइन् । घटना अनुसन्धानमा प्रहरीको भूमिका शंकास्पद रहेको आफन्तले बताएका छन् ।

डिएसपी राईको नेतृत्वमा छानबिन टोली गठन
यसैबीच जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा प्रहरी नायब उपरीक्षक राईको नेतृत्वमा प्रहरी सहायक निरीक्षक दिवस कुँवर र प्रहरी हवल्दार रमेश थापा छन् । ‘आइतबार नै प्रहरी नायब उपरीक्षक राईको नेतृत्वको छानबिन समितिले अनुसन्धान सुरु गरेको छ,’ प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले भने, ‘मृतक प्रविणको घटना सम्बन्धमा अनुसन्धान कार्यमा घटनाका तथ्यहरुमा तात्विक फरक पर्ने गरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैरव्यवसायिक अनुसन्धान कार्य गरेको पाइएमा सम्बन्धित अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्छौं ।’

मृतकका बुबा प्रेमप्रसाद बाँस्तोलाले रणपहेली दर्जी र पौडेलविरुद्ध किटानी जाहेरी पुस २२ गते प्राप्त भएपछि तीनै जनालाई नियन्त्रणमा लिई छानबिन गरेको थापाले बताए । तत्काल शव परीक्षण प्रतिवेदन तथा फरेन्सिक परीक्षण प्रतिवेदन उपलब्ध नभएकाले प्रतिवादीहरुलाई कानुन बमोजिम २५ दिन थुनामा राखी अनुसन्धान गर्ने अवधि समेत पुरा भएको हुँदा जिल्ला सरकारी वकिल कार्यालय मोरङको निर्देशन अनुसार माघ २ गते जिम्मा जमानीमा उपस्थित हुने गरी उनीहरुलाई छाडिएको उनले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७