अदुवाको भाउ घट्दा किसान निराश, गत वर्षभन्दा ५ गुना कम मूल्य


१२ फाल्गुन २०७७, बुधबार
aaduwa

इलाम, १२ फागुन । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराश बनेका छन् । गत वर्ष प्रतिमन (४० किलो) छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन एक हजार मात्र हुँदा किसान निराश भएका हुन् ।

गत वर्ष भाउ धेरै पाउँदा हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य छन् । गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेखीय थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै नेपाली बजारमा पनि भाउ कम भएको हो ।

गत वर्ष अदुवाले राम्रो मूल्य पाएपछि फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गरेका थिए । यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको उनले बताए ।

अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन नसकिएको किसानहरुले बताएका छन् । इलाममा उत्पादन हुने अदुवाको ठूलो परिमाण भारत निकासी हुन्छ । अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि लागतअनुसारको मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपालले बताए ।

अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित अदुवा निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् । अदुवा फागुन, चैत महिनामा रोपिन्छ । रोपिएको बीउ अदुवा नै माउको रूपमा झिकेर बेच्ने गरिन्छ ।

गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । भारतकै कारण यस वर्ष भाउ नआएको इलाम नगरपालिकास्थित बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७