कांग्रेस नेता जोशीको स्वास्थ्य गम्भीर, स्वास्थ्यमा देखिएन सुधार


१५ फाल्गुन २०७७, शनिबार
nabindra raj joshi

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको नर्भिक अस्पतालले जनाएको छ ।

बिहीबार राति शरीरको देब्रे भागमा समस्या देखिएपछि उनलाई वीर अस्पताल पु¥याइएको थियो । वीरमा उपचार सम्भव नदेखेपछि जोशीलाई शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको हो । नर्भिक अस्पताल न्युरो विशेषज्ञ डा. राजीव झाको टोलीले उनको उपचार गरिरहेको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै उपचारमा संलग्न चिकित्सक डा. झाले अवस्था गम्भीर रहेको बताए । ‘शल्यक्रिया भएको छ, तर उहाँको अवस्था एकदमै नाजुक छ । अहिलेसम्म उहाँ कोमामै हुनुहुन्छ,’ डा झाले भने, ‘उहाँको स्वास्थ्य अवस्थाबारे अहिले केही भन्न सक्ने अवस्था छैन ।’

चिकित्सकका अनुसार जोशीको मस्तिष्कबाट १३० मिलिलिटर जमेको पानी झिकिएको छ । डा. झाका अनुसार टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको छ । रगत र पानी नजमोस् भनेर मस्तिष्कमा पाइप लगाइएको छ ।

जोशीलाई देखिएको समस्या निकै जटिल हो । यस्तो अवस्थामा निकै कम मात्रै मानिस बाँच्ने गरेको चिकित्सक बताउँछन् । स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि जोशीलाई भेन्टिलेटरमा राखिएको छ । शरीरमा रगतको मात्रा ज्यादै कम भएकाले रगत बढाउने औषधि चलाइएको छ ।

शुक्रबार बिहान नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमामा पुगिसकेको डा झाले बताए । नर्भिकमा पुग्दा जोशी कोमामा पुगिसकेका थिए । चिकित्सकका अनुसार सास फेर्न गाह्रो भइरहेको थियो, बान्ता भएर बान्ता उहाँको फोक्सोमा पुगेको अवस्था थियो । पत्रकार सम्मेलनमा डा. झाले भने, जोशीलाई नर्भिक अस्पतालमा सास फेर्न सहज होस् भनेर आकस्मिक उपचार प्रक्रिया अगाडि बढाइएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७