बेनीमा खानेपानी कार्यालय स्थापना


१७ फाल्गुन २०७७, सोमबार
drinking water

म्याग्दी, १७ फागुन । बेनीमा तीन जिल्ला कार्यक्षेत्र भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको छ ।

सङ्घीय सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहेको छ । कार्यालयमार्फत हिमाली जिल्लामा एक हजार र पहाडीमा पाँच हजारभन्दा बढी सङ्ख्यामा उपभोक्ता भएका खानेपानीका साथै ढल व्यवस्थापनसम्बन्धी आयोजना कार्यान्वयन हुने भएका छन् ।

यस वर्ष २७ खानेपानी र ढल व्यवस्थापनसम्बन्धी आयोजना कार्यान्वयनका लागि बजेट विनियोजन भएको आयोजनाका प्रमुख रामउदगार यादवले जानकारी दिए । उनका अनुसार म्याग्दीको बृहत् घोप्टेखोला र पिप्ले भगवती बृहत् खानेपानी आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा रहेको छ ।

तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत शुरु भएका आयोजनालाई पनि पूर्णता दिइने जनाइएको छ । उहाँका अनुसार पुराना आठ आयोजना निर्माण कार्यलाई पूर्णता दिन कार्यालयले पहल गरेको छ ।

सिनियर डिभिजनल इञ्जिनीयरको नेतृत्वमा तीन इञ्जिनीयर, तीन सब इञ्जिनीयर, एक कम्प्युटर अपरेटर, एक कार्यालय सहयोगी र एक हलुका सवारी चालकको दरबन्दी छ । सबै दरबन्दीअनुसारका प्राविधिक कर्मचारी भएको र उनीहरुलाई कार्यक्षेत्रमा परिचालन गरेर पहिले शुरु भएका आयोजनाको अवस्था अध्ययन गरिरहेको आयोजना प्रमुख यादवले बताए ।

आर्थिक वर्ष २०७४–७५ मा तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खारेज भएपछि म्याग्दीका धेरै खानेपानी आयोजना अलपत्र परेका थिए । सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय कसले आयोजना सञ्चालन गर्ने भन्ने अन्यौलताका कारण पहिले शुरु भएका आयोजनामा बजेट नहुँदा अधुरा थिए ।

प्रदेशले एक हजारभन्दा कम जनसंख्या उपभोक्ता भएका आयोजना हेर्ने र सङ्घीय कार्यालयले ठूला आयोजना सञ्चालन गर्ने गरी कार्यविभाजन भएको छ । म्याग्दीमा सङ्घीय कार्यालय स्थापना भएपछि पुराना आयोजनाले पूर्णता पाउने र नयाँ आयोजना निर्माणले गति लिने सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले बताए ।

यसअघि पोखरास्थित सङ्घीय खानेपानी कार्यालयले म्याग्दीका आयोजना हेर्ने गरेको थियो । केही आयोजना प्रदेश सरकारअन्तर्गतको सिँचाइ, जलस्रोत तथा खानेपानी डिभिजन कार्यालयमा हस्तान्तरण भए पनि न्युन बजेटका कारण पूर्णता पाउन सकेका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७