मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छ : कृषिमन्त्री


२० फाल्गुन २०७७, बिहीबार
padma aryal
फाइल फोटो

काठमाडौं, २० फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताएकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताइन् ।

उनले अब मल आपूर्ति अनुमानमा नभई तथ्य र आवश्यकताका आधारमा गरिने समेत स्पष्ट पारिन् । ‘मलको आपूर्ति अनुमानका आधारमा होइन, तथ्य र आवश्यकताका आधारमा गर्ने गरी प्रदेशहरुसँग आवश्यकताको माग गरिएको छ । त्यसका आधारमा प्रबन्ध गरिनेछ’, उनले भनिन् ।

मन्त्री अर्यालले दीर्घकालीनरूपमै मलको समस्या समाधान गर्ने तयारी समेत भइरहेको जानकारी दिइन् । उनले रासायनिक मलको कारखाना खोल्नका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताइन् । ‘अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि मन्त्रालयका सचिवलाई कारखाना उद्योग खोल्नका लागि कार्ययोजना तयार गर्न भनेका छौं’, उनले भनिन्, ‘कार्ययोजना प्रस्तुत गरेपछि मन्त्रिपरिषदमा उद्योग खोल्नका लागि प्रस्ताव लगिने छ ।’

चालु आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन मल (युरिया मल दुई लाख ८२ हजार ५००, डिएपी दुई लाख दुई हजार ५०० र पोटास १५ हजार) आयात गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताइन् । सोमध्ये चालु आवमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको तथा एक लाख ६२ हजार मेट्रिक टन मौज्दात र दुई लाख ६९ मेट्रिक टन मल नेपाल भित्रिने क्रममा छ ।मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उनको भनाइ थियो ।

मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले भदौ–असोजमा मल ल्याउन थालिए पनि ढिला भएकाले अब आउने मल किसानका लागि पर्याप्त हुने बताइन् । उनका अनुसार रासायनिक मात्र नभएर प्राङ्गारिक मललाई पनि सरकारले प्राथमिकतामा राखेको छ । उनले सबै पालिकामा ‘भकारो सुधार’ कार्यक्रमलाई पुनः सञ्चालन गरेर प्राङ्गारिक मल उत्पादन गरिने बताइन् ।

मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले दुई लाख मेट्रिक टन मल आगामी धान यामका लागि मौज्दात रहेको बताए । उनका अनुसार पाँच–सात वर्षसम्म आपूर्ति गर्नका लागि सरकारले सरकारबाट सरकार (जिटुजी) का माध्यमबाट मल खरीद गर्ने तयारी गरेको छ ।

उनका अनुसार पछिल्ला तीन वर्षको बिक्रीका आधारमा साउनदेखि असोजसम्म एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ जुन यस आवकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ । आगामी आवको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिकमा करीब तीन लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनादेखि आयात प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७