प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक

काठमाडौं, २१ फागुन । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
नेकपाले आज (शुक्रबार) दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो । प्रचण्ड–नेपाल पक्षले २३ गतेदेखि शुरु हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको एक सांसदले जनाकारी दिएका छन् ।
ओली समूहले संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कारबाही गरी उनको ठाउँमा विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ भने प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाइसकेको छ ।
त्यस्तै दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी लगायतलाई कारबाही गरिसकेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक पनि आजै बस्ने भएको छ ।