प्रतिनिधिसभा वैठक : प्रचण्ड–नेपाल पक्षका सांसद पनि सत्ता पक्षकै सिटमा


२३ फाल्गुन २०७७, आईतवार
praliament

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा प्रचण्ड–नेपाल पक्षका सांसदहरु पनि नेकपाका सत्तापक्षकै सिटमा बस्ने भएका छन् ।

संघीय संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेको तर दल विभाजन औपचारिक रूपमा नभएकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आइतबार पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा बैठकबारे जानकारी दिएका हुन् । ‘निर्वाचन आयोगबाट सत्तारूढ दल विभाजन नभएकाले सचिवालयले सत्तारूढ दलका सांसदहरूका लागि सत्तापक्षको सिट व्यवस्थापन गरेको छ । उहाँहरू आफ्नो अनुकूलतामा सोही सिटमा बस्नुहुन्छ,’ उनले भने, ’निर्वाचन आयोगबाट विभाजन भएको पत्र नपठाएसम्म हामीले केही गर्ने होइन ।’

निर्वाचन आयोगबाट औपचारिक रूपमा नेकपा विभाजन भएको जानकारी नआएसम्म संसद् सचिवालयले केही नगर्ने पाण्डेको भनाइ थियो । कार्यव्यवस्था परामर्श समितिमा मुख्य सचेतकलाई बोलाउनै पर्ने भन्ने कानुनी व्यवस्था नरहेको पनि प्रवक्ता पाण्डेले बताए । प्रतिनिधिसभा बैठकले कार्यव्यवस्थामा रहने व्यक्तिहरूको नाम अनुमोदन गर्ने र आमन्त्रित सदस्य भने सभामुखले नै बोलाउन सक्ने अभ्यास रहेको उनले बताए ।

नेकपाका मुख्य सचेतकका रूपमा देवप्रसाद गुरुङ र विशाल भट्टराईले सेवा सुविधा लिइरहेको पाण्डेले जानकारी दिए । दलका विषयमा निर्वाचन आयोगबाट विवाद निरूपण भएपछि मात्रै संसद् सचिवालयले काम गर्ने उनले बताए । त्यस्तै, प्रतिनिधिसभा बैठक अगाडि संघीय संसद्का २५५ सांसद, मर्यादापालक, कर्मचारीलगायतले कोरोना खोप लगाएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७