कतै मिलन, कतै विछोड

पेरिसडाँडामा अन्तिम पटक भेटेर छुट्टिए प्रचण्ड–माधव समूह


२५ फाल्गुन २०७७, मंगलवार
Cover Kati Milan2021 03 09 03 31 59

काठमाडौं, २५ फागुन । वरिष्ठ नेता माधव नेपालको समूह साबिकको एमालेमा सक्रिय हुने भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएको अर्को दिन नेपाल समूहले आफ्ना एजेन्डालाई जीवित राख्दै पूर्ववत् एमालेमा क्रियाशील हुने निर्णय गरेको हो ।

वरिष्ठ नेताहरू नेपाल, झलनाथ खनालसहित पूर्वएमाले समूहका स्थायी कमिटी सदस्यहरू सोमबार दिउँसो अर्याल होटेल नयाँबानेश्वर बसेका थिए । अदालतको फैसलाप्रति असहमति रहे पनि कार्यान्वयन गरेर अगाडि जानुको विकल्प नरहेको निष्कर्षपछि उनीहरू प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको संयुक्त बैठकमा भाग लिन पेरिसडाँडा पुगेका थिए ।

पेरिसडाँडामा ११ बजे बैठक बोलाइए पनि अर्याल होटलको बैठक लम्बिएपछि ३ बजेका लागि बैठक सारिएको थियो । बैठक ४ बजेमात्र सुरु भएको थियो । अधिकांश स्थायी कमिटी सदस्यले एमालेमै पूर्ववत् क्रियाशील हुने, तर प्रधानमन्त्री केपी ओलीको व्यक्तिवादविरुद्ध अन्तर्संघर्ष जारी राख्दै विधि, पद्धतिअनुसार पार्टी सञ्चालनका लागि विगत जस्तै सबै तहमा भूमिका खेल्ने निष्कर्ष निकालेका थिए ।

‘अधिकांश स्थायी कमिटीका नेताले कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै एमाले निर्माणमा नेतृत्वदायी भूमिका खेलेकाले कसैले पनि छाड्ने होइन,’ बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यले भने, ‘माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूको अरूको भन्दा धेरै योगदान रहेकाले आफैले बनाएको पार्टी छाडेर हिँड्ने त अब प्रश्नै छैन ।’

पूर्ववत् एमाले ब्युँतिएपछि त्यहाँ क्रियाशील हुँदा विगतदेखि उठाउँदै आएको एजेन्डालाई पनि ब्युँताउने, तर घृणा, अपमानको व्यवहार भए अन्तर्संघर्ष चर्काउने नेपाल समूहको निष्कर्ष छ । त्यस्तै, तत्कालीन नेकपाका अध्यक्ष ओली र प्रचण्डलाई पुनः एकताका लागि पहल लिन आग्रह गर्ने तथा सम्भव भएसम्म अदालतको फैसलाको पुनरावलोकनका लागि अघि बढ्न सुझाब दिने निष्कर्ष पनि बैठकले निकालेको छ ।

फैसला कार्यान्वयनको प्रक्रियामा जाने क्रममा अदालतले भनेअनुसार तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले बन्ने नै भयो । यद्यपि, हामी न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि जादैँ छौँ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘राजनीतिक ढंगले त हामीले यसमा असहमति राखेर प्रतिवाद गरेकै छौँ । त्यस क्रममा हामीले पार्टी एकताको उद्देश्य सही भएको र पार्टी एकताको कार्य पनि सही भएको कारणले यस प्रक्रियामा अगाडि बढ्न जे सम्भव छ त्यो पहलकदमीलाई जारी राख्छौँ ।’ श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी नेकपाका रूपमा यो अन्तिम बैठक भएको बताए ।

बैठकमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकतालाई बाह्य शक्तिले नचाहेका कारण तत्कालका लागि कम्युनिस्ट आन्दोलन त्यसैको सिकार भएको धारणा राखेका थिए । उनले कम्युनिस्ट पार्टीहरूबीच एकता हुँदा जनतामा कस्तो प्रकारको सकारात्मक सन्देश जाँदो रहेछ भन्ने पुष्टि भएको बताएका थिए । उनले अब पनि एकताबद्ध हुन आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने भनाइ राखेका थिए ।

त्यस्तै, एमाले नेता नेपालले दुई दलमा रहेर पनि सहकार्यलाई टुटाउन नहुने धारणा राखेका थिए । उनले जुनसुुकै स्थानमा रहे पनि कम्युनिस्टहरू एकीकृत भएर सहकार्य गर्नुपर्ने भन्दै वामपन्थी धारलाई बलियो बनाउन दुवै पक्षले उत्तिकै सहकार्य गर्न आवश्यक रहेको बताएका थिए ।

बैठकबाट बाहिरिने क्रममा नेता नेपालले लोकतन्त्रको मूल्य र मान्यतालाई ध्यानमा राखेर सबै लोकतान्त्रिक शक्तिलाई साथमा लिएर सहकार्य जारी रहने बताए । ‘अहिले हामी फैसलालाई मानेर नै अघि बढ्ने हो । तर, पूर्वएमालेको नाममा अर्को दल दर्ता छ भने पूर्वमाओवादीको नाममा पनि अर्को दल दर्तामा रहेको सुन्नमा आएको छ । यो कसरी समाधान होला ?’ उनले प्रश्न गरे ।

वरिष्ठ नेता झलनाथ खनालले पनि एकीकृत भइसकेका पार्टीहरूलाई अदालतको फैसलाले कानुनतः दुईवटा पार्टीमा विभाजन गरेकाले यो फैसलालाई कार्यान्वयन गर्ने बताए । पार्टी फरक भए पनि वामपन्थी एकतालाई कायम राख्न कोशिस गर्ने उनको भनाइ थियो ।

यसअघि बैठकमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले सर्वोच्च अदालतले आइतबार नेकपाको वैधतामाथि फैसला गर्दै पूर्ववत् अवस्थामा एमाले र माओवादी केन्द्र ब्युँताउनुमा विदेशीहरूको षड्यन्त्र भएको दाबी गरे । ‘अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ । तर, संसद् अधिवेशन बोलाएकै दिन दुई वर्षदेखि अदालतमा रहेको मुद्दाको फैसला आउनुले विदेशीको षड्यन्त्र भएको सजिलै बुझ्न सकिन्छ,’ उनले भनेका थिए ।

यस्तै, अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पनि रावलको भनाइलाई समर्थन जनाउँदै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न पहल गर्नुपर्ने बताएका थिए । बैठकमा सहभागी अधिकांश नेताले तत्काललाई अदालतको फैसला कार्यान्वयन गर्ने र सबैले आ–आफ्नो स्थानबाट पार्टी एकताका लागि पहल गरिराख्नुपर्ने धारणा राखेका थिए ।

फैसला आएकै दिन नेपाललाई प्रधानमन्त्रीको शुभकामना

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएकै दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाललाई फोन गरेका छन् । आइतबार नेपालको जन्मदिन परेकोले शुभकामना दिन ओलीले नेपाललाई फोन गरेका थिए । दुई नेताबीच संवाद भएको केही घण्टामा सर्वोच्चको फैसला आएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने अदालतको फैसलापछि नेपाललाई टेलिफोन गरेर पूर्वएमालेको एकता र सरकार बचाउने सम्भावनाको खोजी गरौँ भन्दै प्रस्ताव राखेका थिए । तर, नेपालले सच्चिएर अघि बढ्ने हो भने त्यस्तो ठोस प्रस्ताव ओलीकै तर्फबाट आउनुपर्ने जवाफ फर्काएका थिए । त्यस्तै, संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले पनि नेपालसँग टेलिफोन संवाद गरेका छन् । अर्याल होटेलमा पूर्व एमालेबीचको छलफलअघि नेपाल र एमाले उपाध्यक्ष वामदेव गौतमबीच टेलिफोनमा लामै कुराकानी भएको एक नेताले बताए ।

एमाले सचिवालय बैठक आह्वान
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार अपराह्न ४ बजे पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् । तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् । उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको छ ।

कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा
तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भंग हुने गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि ओली गठबन्धन सरकारको प्रधानमन्त्रीमा परिणत भएका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै ओलीले विश्वासको मत हासिल गर्नुपर्ने अवस्था आउँछ । तर, भावी सरकारलाई लिएर कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा छ । कांग्रेसको दृष्टि ‘चाँडो चुनाव’ मा छ ।

विभाजित नेकपाका दुवै समूहले नयाँ सरकार बनाउन अफर गरे पनि कांग्रेसले विभाजनको आधिकारिकता खोज्दै त्यसबारे निर्णय लिन सकेको थिएन । अदालतले नेकपाको एकता नै भंग गरिदिएपछि पनि कांग्रेस आफ्नो भूमिकामा प्रस्ट भइसकेको छैन । चाँडो चुनावको विकल्प सारेका कांग्रेस नेताहरू चुनावी सरकारको नेतृत्वबारे पनि मौन छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७