फागुन २८ को निर्णय विधिसम्मत हो, पछाडि फर्कन सकिँदैन : ओली


१३ चैत्र २०७७, शुक्रबार
oli

काठमाडौं, १३ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबाट पछाडि हट्न नसक्ने स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले केही साथीहरु बैठकमा अनुपस्थित भए पनि निर्णय विधिसम्मत भएको दावी गर्दै उक्त निर्णय फिर्ता नहुने बताए ।

‘एमाले केन्द्रीय कमिटीको फागुन २८ गतेका र चैत ५ र ७ गतेको निर्णयबाट पछाडि फर्कन सकिँदैन’, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठकपछि भने, ‘केही साथीहरु बैठकमा नआएका कारण छुट्नु भएको हो, निर्णय विधिसम्मत नै हो ।’

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण भट्टले सर्वोच्च अदालतको एमाले र माओवादी केन्द्र ब्युँत्याउने फैसलापछि संगठन २०७५ जेठ २ गतेको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णय खारेज गरेर एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताएको प्रमुख सचेतक भट्टराईले जानकारी दिएका छन् ।

नेपाल–खनाल पक्षका नेताको आग्रहपछि प्रधानमन्त्री ओलीले फागुन २८, चैत ५ र ७ गतेको निर्णयबाट पछाडि नफर्कने प्रष्ट पारेका हुन् । उनले संशोधित विधान केन्द्रीय कमिटीबाट पारित भइसकेका कारण तत्काल तलमाथि गर्न नसकिने बताएका थिए ।

‘प्रधानमन्त्री ओलीले एमाले संसदीय दलको विधान केन्द्रीय समितिले पास गरिसकेका कारण तत्काल तलमाथि गर्न नसकिने जवाफ समेत दिनु भएको छ’, भट्टराईले भने । एमाले पुनर्स्थापनापछि नेपाल–खनाल समूह पहिलोपटक बैठकमा सहभागी भएको हो । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने अनुपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७