ओलीलाई रोक्दै घनश्याम भुसालले भने, ‘गलत तथ्यमा नबोल्नुस्’


१३ चैत्र २०७७, शुक्रबार
kp ghanshyam

काठमाडौं, १३ चैत । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको आज (शुक्रबार) को चासोपूर्ण मात्र होइन रोचक समेत बनेको छ ।

बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष ओली र उपमहासचिव घनश्याम भुसालबीच गर्मागर्मी सवाल जवाफ चलेको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पछिल्ला समय गरेका केहि निर्णय र उनको कार्यशैलीबारे नेता भुसालले प्रश्न उठाएपछि दुई नेताबीच बैठकमा सवाल जवाफ चलेको हो ।

दुई नेताहरुबीच सवाल जवाफले वैठकको वातावरण बिग्रिन नदिन योगेश भट्टराईलगायतका नेताहरुले परिस्थितिलाई सहज बनाएका थिए । बैठकको शुरुमा प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री विष्णु पौडेललाई बजेटबारे बोल्न समय दिएपछि वरिष्ठ नेता झलनाथ खनालले बीचैमा रोकेर आफू बोल्नका लागि समय मागे ।

वरिष्ठ नेता झलनाथ खनाल एमाले पुनः स्थापित भएकोले २ जेठ ०७५ कै अवस्थामा पुग्नुपर्ने धारणा राखे । त्यही समूहका नेता घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टको मत खनालकै लयमा थिए । उनीहरू एमाले एकताबद्ध बनाउन अध्यक्ष ओलीको छाती फराकिलो बनाउनुपर्ने तर्क मात्र गरिरहेका थिएनन्, २३ फागुन यताका सबै निर्णय उल्टाउनुपर्ने माग गरिरहेका थिए ।

बैठकमा ओलीले भनिहाले– ‘२८ फागुनको केन्द्रीय कमिटी बैठक,२ चैतको संसदीय दलको बैठक, ७ चैतको केन्द्रीय समितिको बैठकका निर्णय सच्याउन सकिदैन् ।’ ती बैठकहरुले मनोनित गरेका २३ जना केन्द्रीय सदस्य, जिम्मेवारी हेरफेरका निर्णय, पार्टीको विधान र संसदीय दलको विधान संशोधन लगायतका निर्णय कानूनसम्मत रहेको ओली तर्क गरिरहेका थिए ।

ती बैठक वैधानिक र आधिकारिक भएको दाबी गर्नलाई अध्यक्ष ओलीले बैठकमा उपस्थित सदस्यमध्ये बहुमतबाट निर्णय लिएको बताए । अर्थात, विगतमा खनाल–नेपाल समूहका नेताहरुले दाबी गरे जस्तो २८ फागुनको केन्द्रीय समितिको बैठकमा खनाल–नेपाल पक्षलाई नबोलाएको भन्ने तर्क गलत भएको ओलीको दाबी थियो । त्यही बेला खनाल–नेपाल समूहका नेता घनश्याम भुसाल उठेर ओलीको भनाइको खण्डन गरे । अध्यक्ष ओली बोल्दाबोल्दै बीचमै उठेर भुसालले भने, ‘प्रधानमन्त्री ज्यू, तपाई गलत तथ्यमा टेकेर बोल्दै हुनुहुन्छ ।’

भुसालले प्रतिवाद गर्नुको खास कारण चाँहि २८ फागुनको बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकप्रति लक्षित थियो । त्यस दिनको बैठकमा सबैलाई खबर गरेको तर सबै नआएको ओलीको भनाइ थियो । ओलीले त्यस दिन बैठकमा आउनेमध्येको बहुमतबाट लिएको निर्णय वैधानिक र पार्टीको विधानसम्मत भएको दाबी थियो ।

तर, भुसालले २८ फागुनको बैठकबारे आफूहरुलाई जानकारी नभएको भन्दै गलत तथ्य दलको बैठकमा नराख्न आग्रह गरे । भुसालले भनेका थिए, ‘२८ फागुनको बैठकमा कसैलाई खबर गरिएको थिएन, गलत तथ्यमा नबोल्नुहोस् ।’

खनाल–नेपाल समूहबाट झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले बोलेका थिए । उनीहरुको साझा धारणा थियो, २८ फागुनको निर्णय सच्याउनुपर्ने, दलको विधान संशोधन फिर्ता लिनुपर्ने र पार्टीलाई ३ जेठ ०७५ भन्दा अगाडि पुर्‍याउनुपर्नेछ । एमालेलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीले नै अग्रसर हुनुपर्ने पनि उनीहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७