स्टार सिटी अपराजित रहँदै एन्फा प्रेसिडेन्ट लिग च्याम्पियन


१५ चैत्र २०७७, आईतवार
Star City 1 1024x683 1

काठमाडौं, १५ चैत । सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली अपराजित रहँदै एन्फा प्रेसिडेन्ट लिगको च्याम्पियन बनेको छ । आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो ।

स्टार सिटीका चेतमान कठायतले दुई तथारुप बहादुर बहादुर लामाले एक गोल गरे । त्रिवेणीका विश्व अधिकारी र सरोज योन्जन लामाले गोल फर्काएपनि हार टार्न सकेन । खेलको ५३औं मिनेटमा रुप बहादुर लामाको गोलबाट स्टार सिटीले अग्रता लिएको थियो । ५६औं मिनेटमा चेतमान कठायतले गोल गर्दै स्टार सिटीको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा चेतमानले व्यक्तिगत दोस्रो गोल गरेपछि स्टार सिटीले खेलमा ३–० को अग्रता लियो । अन्तिम समयमा त्रिवेणीले दुई गोल फर्काएपनि हार टार्न सकेन । ८९औं मिनेटमा विश्व अधिकारीले तथा ९०औं मिनेटमा सरोज योन्जनले गोल गरे ।

अर्को खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटले प्रदेश नम्बर–१ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको छ । मनकामनाको जितमा भुवन बस्नेत र विके राईले गोल गरे ।

आइतबारको नतिजासँगै स्टार सिटी १६ अंकसहित शीर्ष स्थानमा रहँदा लुम्बिनी प्रदेशको धम्बोझी क्लब १२ अंकसहित दोस्रो, मनकामना युवा क्लब रौतहट तेस्रो र त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएका छन ।

च्याम्पियन बनेको स्टारसिटीले १० लाख, दोस्रो धम्बोझीले ५ लाख र फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त ग¥यो । यसैगरी प्रतियोगितामा उत्कृष्ट रक्षक स्टारका धनराज थापा, स्टारकै राजेन्द्र रावल उत्कृष्ट मिडफिल्डर, धम्बोझीका निशान लिम्बु उत्कृष्ट स्ट्राइकर, स्टारका टेकेन्द्र थापा उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षक स्टारका ललित चन्द्र घोषित भए ।

उनीहरुले समान रुपमा जनही २५ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुप बहादुर विष्ट घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटी सदस्य एवम एन्फा केन्द्रिय दिर्घ बहादुर केसी, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्र विक्रम थापा, उपाध्यक्ष अजित राज भण्डारी, सुर्यमणि अधिकारी, धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर ओड र नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगर लगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७