३७ वर्षपछि घरेलु मैदानमा नेपाललाई उपाधि


१६ चैत्र २०७७, सोमबार
Nepal Three Nations Champion 1024x552 2

काठमाडौं, १६ चैत । ३७ वर्षपछि नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबलको उपाधि उचालेको छ ।
आज (सोमबारं दशरथ रंगशालामा भएको तेस्रो अन्तर्राष्ट्रिय कपको उपाधि उचालेसँगै नेपालले ३७ वर्षपछि आफ्नै भूमिमा उपाधि उचालेको हो । यसअघि नेपालले सन् १९८४ मा दक्षिण एसियाली खेलकुद अन्तर्गतको फुटबलको उपाधि यसै दशरथ रंगशालामा उचालेको थियो । त्यसयता स्वदेशमा नेपाली राष्ट्रिय टोलीले उचालेको यो दोस्रो उपाधि हो ।

थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई फाइनलमा २–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । सिनियर टोलीले २०१६ को सोलिडारिटी कपपछि पहिलो उपाधि जितेको हो । समग्रमा नेपाली राष्ट्रिय टोलीको यो पाँचौ अन्तर्राष्ट्रिय उपाधि हो ।

यसअघि नेपालले सन् १९८४ र १९९३ को सागसँगै २०१६ मा बंगबन्धु गोल्डकप र सोलाडिरीटी कपको उपाधि जितेको थियो । सोमबार बंगलादेशविरुद्धको फाइनलमा नेपालका लागि सन्जोग राई र विशाल राईले समान एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएका थिए ।

१९ औं मिनेटमा सुनिल बलको कर्नरलाई बंगलादेशी डिफेन्डरले क्लियर गर्न नसकेपछि बल सन्जोगको खुट्टामा गएको थियो। सन्जोगले विपक्षी खेलाडीलाई छलाउँदै नजिकैबाट गरेको प्रहारले जाली चुम्यो ।

त्योसँगै नेपालले विगत ७ खेलमा रहेको गोल खडेरी समेत तोड्यो । २०१९ को सप्टेम्बरयता भएका ७ खेलमा नेपालले गोल गर्न सकेको थिएन । ४२ औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरे। सन्जोगले मिलाएको पासमा विशालले बंगलादेशी गोलरक्षकसँग वान भर्सेस वानको पासमा गोल गरेका थिए ।

८३ औं मिनेटमा परिवर्तित खेलाडी मेहबरर रेहमानले एक गोल फर्काएका थिए । कप्तान जमल भुयाँको कर्नरमा रहेमानले हेडिङ गोल गरेका थिए । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भएको खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टोली सहभागि थियो । बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७