कोरोना ग्राफ उकालो लाग्दै


१९ चैत्र २०७७, बिहीबार
korona doctor

काठमाडौं, १९ चैत । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जाँदा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै गएको हो ।

जनस्वास्थ्य विज्ञले कोरोना रोकथामका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, कोरोना परीक्षण क्षमता वृद्धि र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन अनुगमन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै, स्थानीय तहमार्फत् कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भनिए पनि सरकारले ठोस योजना बनाएको छैन । यसअघि, बन्दाबन्दीका बेलासमेत कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी बन्न सकेको थिएन ।

अधिकांश नागरिकले मास्क समुचित प्रयोग गर्न छाडेको र भौतिक दूरी कायम गरिरहेका छैनन् । सार्वजनिक यातायात, विद्यालय, फिल्म हललगायत भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन सकेका छैनन् । त्यस्तै, सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड फितलो देखिएको छ । सरकारले सीमानाकामा हेल्थ डेस्क सक्रिय बनाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएको स्थानमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय गर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।

काठमाडौं विश्वविद्यालयका सामुदायिक तथा जनस्वास्थ्य कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यले नेपालमा कोरोना संक्रमण विस्तारै बढ्न थालेको बताए । ‘दोस्रो चरणको संक्रमण बढ्ने सम्भावना छ, व्यक्तिगत रूपमा जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्छ,’ उनले भने, ‘कोभिड शंका लागे परीक्षण गराउनु पर्छ, सधैं मास्क प्रयोग गर्नुपर्छ ।’

सरकारले सीमानाका क्षेत्रमा आइसोलेसन राख्ने बताएको छ । संक्रमण पुष्टि भए आइसोलेसन सेन्टरमा १० दिन राखेर मात्रै गन्तव्य पठाउने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण उत्कर्षमा पुग्दा जनस्वास्थ्यका मापदण्ड पालना गरिए पनि विस्तारै पालना गर्न छोडिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलले भारतबाट आउनेलाई जाँच गरेर मात्रै प्रवेश दिइने बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण रोकथामका लागि स्वयं व्यक्ति सचेत हुनुपर्नेमा जोड दिए । ‘जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्छ, हातले मुख, नाक छुनुहुँदैन,’ उनले भने, ‘भौतिक दूरी कायम गर्नुपर्छ । दोस्रो चरणको सम्भावित संक्रबाट रोक्न स्वास्थ्य सेवा तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ ।’

यसैबीच, केही दिनयता सक्रिय कोरोना भाइरस संक्रमित संख्या बढेको छ । हाल, देशभर १ हजार ४ सय ९३ सक्रिय संक्रमित छन् । ३ अंकमा झरेको सक्रिय संक्रमित संख्या पछिल्लोे एक सातायता बढ्दै गएको छ ।

नेपालमा यो सातालाई आधार मान्दा ३८ प्रतिशतले कोरोना संक्रमण वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७