गौचन हत्यारा पत्ता नलगाएसम्म आन्दोलन जारी राख्ने


प्रकाशित मिति : October 11, 2017

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

महासंघले बुधबार बिजुलीबजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात समूहको गोली लागेर निधन भएका अध्यक्ष गौचनको हत्यारालाई चाँडो खोजी गर्न सरकारसमक्ष माग गरेको हो ।

सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले अध्यक्षको निधनले देशभरको निर्माण क्षेत्र शोकाकुल भएको भन्दै निर्माण व्यवसायलाई स्थगित गरेर आन्दोलनमा जानुपरेको बताए । ‘घटना भएको ४८ घण्टासम्म पनि दोषी पत्ता नलाग्नु मुलुकको गृह क्षेत्रको कमजोरी हो’ कावा अध्यक्ष श्रेष्ठले भने ।

उनले अहिलेसम्म महासंघले सांकेतिकरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताउँदै घटनाका दोषीलाई कारबाही नगरे आगामी दिनमा कडा आन्दोलन गर्ने चेतवानी दिए ।

आन्दोलन मूल संघर्ष समितिका संयोजक एवं महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचन हत्याकाण्डमा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने साथै अन्य व्यवसायीको सुरक्षाको मागसमेत गर्नुभयो ।

महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले अध्यक्षको हत्याले सिंगो देशको अर्थतन्त्रको हत्या भएको भन्दै हत्यारालाई चाँडो खोजी गर्न सरकारलाई आग्रह गरे।

थकाली सेवा समाजका अध्यक्ष कृष्णकुमारी शेरचनले महासंघको निर्णयअनुसार समाजले मृतक गौचनको शव बुझ्ने बताए । अध्यक्ष शेरचनले मृतक गौचनको थकाली परम्पराअनुसार अन्येष्टि गरिने बताए ।रासस

प्रतिक्रिया दिनुहोस्