धरहरा उद्घाटन आज, तत्काल अवलोकन नखुल्ने


११ बैशाख २०७८, शनिबार
dharhara

काठमाडौं, ११ बैसाख । धरहरा नजिकै बनेको नयाँ धरहरा आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
भूकम्पले भत्काएको धरहराको संरचनाको पुनर्निर्माण सम्पन्न भए पनि बाँकी संरचनाहरूको पुनर्निर्माण कार्य बाँकी छ । कोरोना तथा लकडाउनलगायतका कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ ।

नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको मनमोहक बगैंचा तथा सङ्गीतमय फोहरा समेत बन्ने छ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन । आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिएका छन् । उनका अनुसार धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतलासहित २३ तला हुनेछ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने मानन्धरले बताए ।

लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङ समेत जडान गरिएको छ । धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २ दशमलव ५ मिटर चौडाइको बार्दली समेत बनाइएको छ । २२ औं तलामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।

प्राधिकरणले भूकम्पपछिको ६ वर्ष अवधिमा पुनर्निर्माण र पुनः स्थापना प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि प्राप्त भएको जनाएको छ । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण शुरु गरेका कुल लाभग्राही संख्या ७ लाख ५३ हजार १०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७