कोरोनाबाट एक सातामै भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु


१२ बैशाख २०७८, आईतवार
korona india 2

काठमाडौं, १२ बैसाख । कोरोना भाइरस संक्रमणबाट एक सातामै भारतमा २० सहित बिभिन्न देशमा २३ नेपालीले ज्यान गुमाएका छन् ।
भारत लगायतका विभिन्न मुलुकमा कोरोना महामारीको प्रकोप बढ्दै जाँदा ती देशहरुमा रहेका नेपालीहरुको मृत्युदर पनि बढेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको हो । सो समितिका सदस्य समेत रहेका नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कुल २० जना नेपालीको निधन भएको छ ।

निधन हुनेमा अधिकांश ५० वर्ष मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भइसकेको छ । हालसम्म मृत्यु भएकामध्ये २ सय ४५ जना मध्यपूर्वी देशमा रहेका नेपाली हुन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, यूएई, रोमानीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्डमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जना संक्रमित पुगेकोमा ९३ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७७ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म ३ हजार १ सय ३६ जनाको निधन भएको छ ।
गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले महामारीका दौरान २ सय ५० जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिएका थिए । नेपालबाहिर करिब ५ हजार डाक्टर र १५ हजारको हाराहारीमा नर्सहरु रहेका र ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्ने प्रयास भइरहेको उनले बताए ।

टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह
एनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । तभभिजभबतिज२लचलब।यचन मा इमेल पठाएर परामर्श लिन सकिने एनआरएनएले जनाएको छ ।

स्वास्थ्य समितिले दुईवटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने पनि समितिले जनाएको छ ।

सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ सुरु गरेर कोभिड–१९ बाट जोगिन र संक्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्नेबारे नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७