खोप अब कहिले ?

चीन, रूस र अमेरिकासँग कूटनीतिक पहल तीव्र


२२ बैशाख २०७८, बुधबार
korona khop 1

काठमाडौं, २२ बैसाख । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ । भारतसहित चीन, रूस र अमेरिकाबाट खोप ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहल अघि बढाइएको हो ।

‘थप खोप ल्याउन उच्चस्तरीय संयन्त्रबाट कुराकानी भइरहेको छ’, स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘कहिले आइपुग्छ, अहिले यकिनका साथ भन्न सक्ने अवस्था छैन ।’

स्वास्थ्य मन्त्रालयमार्फत खोप खरिदका लागि छनोट गरिएको मुलुकमा रहेका कूटनीतिक नियोगमार्फत खरिद तथा अनुदानमा उपलब्ध गराउन आग्रह गरिएको छ । सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतहरूलाई सहजीकरण गर्न निर्देशन दिइएको परराष्ट्र स्रोतले बताएको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा सक्रिय भएका छन् ।

यी तीन मुलुकका नेपालस्थित राजदूतलाई पनि सहजीकरणका लागि पहल गर्न भनिएको छ ।
अग्रिम भुक्तानी दिई खरिद गरिएको खोप भारतबाट आउन सकेको छैन । उक्त खोप आउन ढिलाइ भएपछि सरकारले अन्य मुलुकमा पनि खरिद प्रक्रिया अघि बढाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा पनि आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका थिए ।

भारत र चीनका साथै कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त खोप २१ लाखभन्दा बढी नेपालीले लगाएका छन् । भारतले सबैभन्दा पहिले कोभिसिल्ड खोप १० लाख डोज अनुदानमा दिएको थियो । त्यस्तै उसले सेनालाई १ लाख डोज उपलब्ध गराएको थियो । त्यसपछि सरकारले २० लाख डोज खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज आए पनि बाँकी आइनसकेको डा. गौतमले बताए । ‘तुरुन्तै आउनुपर्ने त हो तर ढिलाइ भइरहेको छ’, डा. गौतमले भने। चार डलरका दरले अग्रिम भुक्तानी दिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज खोप ल्याइएको थियो । यसबाहेक चीनले पनि ८ लाख डोज खोप अनुदानमा दिएको थियो । कोभिसिल्ड र भेरोसिल गरी २१ लाख १२ हजार १९ जनाले पहिलो मात्रा खोप लगाएको डा. गौतमले बताए । जसमध्ये कोभिसिल्ड १८ लाख २३ हजार ६ सय ६३ र भेरोसिल २ लाख ८८ हजार ३ सय ५६ जनाले लगाएका छन् । दोस्रो मात्रा ३ लाख ७० हजारले लगाएका छन् । अहिले निशेधाज्ञा जारी रहेको र खोप पनि अभाव भएका कारण बाँकी खोप लगाउने कार्यक्रम स्थगन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५५ जनाको मृत्यु
मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित ५५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको हो । यही अवधिमा ७ हजार ६ सय ६० संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ ।

नेपालमा अहिलेसम्म ३ लाख ५१ हजार ५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २ लाख ८७ हजार ७ सय ९० जना निको भएका छन् । निको हुने दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७