राष्ट्रिय सभा उपचुनाव : एमाले–एमालेबीच नै भिडन्त


२२ बैशाख २०७८, बुधबार
Badal khimlal

काठमाडौं, २२ बैसाख । राष्ट्रियसभाको रिक्त एक सिटका लागि आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले–एमालेबीच नै भिडन्त हुने पक्का भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेद्वार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने टुङ्गो लगाएको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गर्दै साझा उम्मेदवारका रुपमा डा. देवकोटालाई अघि सार्ने निर्णय गरेका छन् । संघीयता र योजनविज्ञ देवकोटा एमाले नजिक हुन् । प्रदेश–३ को योजना आयोगको उपाध्यक्ष रहिसकेका उनी पछिल्लो समूह माधवकुमार नेपाल समूह नजिक छन् । उपचुनावमा भने माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्ने छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार विहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तिबनमा छुट्टाछुट्टै संवाद गरेका थिए । उनले राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गरेका छन् । नेताहरुका अनुसार बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने उपचुनावमा साझा उम्मेदवार बनाउने सहमति जुटेको छ ।
लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेयलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाए लगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यद्यपि त्यहाँको निर्वाचन तोकिएको छैन ।

बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवारी बनाउने तयारी गरेको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको यादव पक्षले भने देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७