महामारीमा कालोबजारी : ३० हजारको रेम्डेसिभिर एक लाख २० हजारमा बिक्री

सात सयकाे अक्सिमिटरलाई तीन हजार


२४ बैशाख २०७८, शुक्रबार
Remdesivir2021 05 07 06 25 09

काठमाडौं, २४ बैसाख । कोरोना महामारीले नागरिक आहत भइरहेको अवस्थामा बजारमा स्यानिटाइजर, अक्सिमिटरदेखि संक्रमितलाई दिइने रेम्डेसिभिर इन्जेक्सनसम्मको कालोबजारी हुन थालेको छ । प्रहरीले बिहीबार कालोबजारीमा संलग्न दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको छुट्टाछुट्टै टोलीले गोरखा आरुघाट गाउँपालिका– ४ का २५ वर्षीय रफिक मियाँ र सिराहाको लहान नगरपालिका– २४ का ३४ वर्षीय भगवानबाबु राय राजपुतलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मियाँले रेम्डेसिभिर इन्जेक्सन तथा राजपुतले स्यानिटाइजर र अक्सिमिटरको कालोबजारी गरिरहेका थिए ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार मियाँले ३० हजार रुपैयाँ पर्ने ६ थान रेम्डेसिभिर इन्जेक्सन एक लाख २० हजारमा बिक्री गर्ने तयारी गरेका थिए । यो इन्जेक्सन कोरोना संक्रमित बिरामीलाई लगाउने गरिन्छ । ‘रेम्डेसिभिर इन्जेक्सनको कालोबजारी हुँदै छ भन्ने सूचना आयो । अनुसन्धान गर्दै जाँदा एक अभियुक्त पक्राउ प¥यो,’ एसपी कोइरालाले भने । प्रहरीले मियाँबाट ६ थान रेम्डेसिभिर बरामद गरेको छ ।

मियाँलाई प्रहरीले बसुन्धराबाट पक्राउ गरेको हो । उनले महाराजगन्जस्थित नीलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेम्डेसिभिर बिक्री गर्ने तयारी गरेको अनुसन्धानबाट खुलेको छ । ढकाल अहिले फरार रहेको एसपी कोइरालाले बताए । रेम्डेसिभिर इन्जेक्सन बजारमा सजिलै उपलब्ध हुँदैन । सरकारले तोकेका अस्पतालमा मात्रै उपलब्ध हुँदै आएको थियो । तर, महामारी बढ्दै जाँदा त्यसको ‘सर्टेज’ छ । इन्जेक्सन कसरी दलालको हातमा पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार राजपुतले बजारमा सात सय रुपैयाँ पर्ने अक्सिमिटरलाई तीन हजारमा बिक्री गर्दै आएका थिए । क्षेत्रपाटीस्थित उनले सञ्चालन गरेको बिबिआर इन्टरप्राइजेजमा छापा मार्दा प्रहरीले आठवटा अक्सिमिटर बरामद गरेको छ । त्यस्तै, स्यानिटाइजरका एक सय २४ ग्यालेन पनि बरामद गरिएको छ । स्यानिटाइजरको बिक्री मूल्य भने खुलिनसकेको परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७