ओलीसँग कुनै सहमति भएको छैन, भ्रम र अलमलमा नपरौं : वरिष्ठ नेता नेपाल

‘२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’


२४ बैशाख २०७८, शुक्रबार
Madhav Nepal ex PM scaled

काठमाडौं, २४ बैसाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी समस्यालाई लिएर छलफलहरु भए पनि अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।

उनले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत पार्टीभित्रको समस्या समाधानका लागि वार्ता र लचकता अपनाउने पनि बताएका छन् । नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको उनको भनाइ छ । ०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र ०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटमलाइन भएको उनको आग्रह छ ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं । किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं । तर, अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं’, उनले भनेका छन् ।

एमालेभित्रको संकट समाधान गर्न अध्यक्ष ओली र नेपाल–खनाल पक्षबीच हिजोदेखि नै लगातारजसो वार्ता भइरहेको भए पनि अहिलेसम्म कुनै सहमतिको विन्दु फेला नपरेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७