राष्ट्रियसभा उपनिर्वाचन : नेपाल पक्षले सहयोग नगरे गृहमन्त्री थापा हार्ने पक्का


२५ बैशाख २०७८, शनिबार
badal khimlal krishna

काठमाडौं, २५ बैसाख । बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले शुक्रबार मनोनयनपत्र दर्ता गराएका हुन् ।

तीन उम्मेदवारमध्ये गृहमन्त्री थापा र देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेकै माधवकुमार नेपाल पक्षको समर्थन पाएका देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को साथ छ । नेपाल पक्षले साथ नदिए थापा राष्ट्रियसभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ ।

गृहमन्त्री थापाले हेटौैंडा–५ स्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा शुक्रबार मध्याह्न १२ः३० बजे उम्मेदवारी दर्ता गराए । थापाका प्रस्तावक बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् । एमाले नेता–कार्यकर्ता तथा प्रदेश मन्त्रिमण्डलको टोलीसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थापाले आफ्नो जित निश्चित रहेको दाबी गरे । ‘नेकपा एमालेको सबै मत मलाई आउनेमा म विश्वस्त छु, निर्वाचन जित्छु’, उनले भने । उनी हेलिकप्टर चढेर हेटौंडा आएका थिए ।

देवकोटाले शुक्रबार बिहान ११ः१५ मा उम्मेवारी दिए । देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले छन् । देवकोटाले आफू सहजै जित्ने दाबी गरे । भने, ‘स्थानीय तह र प्रदेशमा बसेर काम गरेको अनुभवले अब राष्ट्रियसभामा बसेर काम गर्छु ।’ थापाले चुनाव चिन्ह सूर्य र देवकोटाले कमल माग गरेका छन् । नेमकिपाबाट तामाङले मध्याह्न १२ बजेर १५ मिनेटमा उम्मेदवारी दर्ता गराए ।

यस्तो छ मत आँकलन
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य एक जनाको मतबराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको एक मतबराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । प्रदेशभित्र १ सय १० प्रदेशसभा सदस्यको ५ हजार २ सय ८० र १ सय १९ स्थानीय तहका २ सय ३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २ सय ८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जम्मा ९ हजार ५ सय ६४ मत रहेकोमा एमालेको मात्र मतसंख्या ९ हजार ५ सय ५६ छ । तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६ सय ३२ मत छ । नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४ मत छ । माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ । नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य छन् ।

स्थानीय तहतर्फ एमालेका १ सय ३३ अध्यक्ष–उपाध्यक्ष रहेको ओली पक्षको दाबी छ । उनीहरू सबैले एमालेमै मतदान गरे २ हजार ३ सय ९४ मत थापालाई थप हुनेछ । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षमध्ये ४० प्रतिशत आफ्नो पक्षका रहेको नेपाल खेमाको दाबी छ । नेपाल पक्षले घोषणा नगरे पनि आफैंले खडा गरेको देवकोटालाई मत हाल्ने तयारी छ। ‘हाम्रो सल्लाह भइरहेको छ, सामूहिक निर्णय हुन्छ । नेताहरूसँगको सल्लाहमा छौं’, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले भनिन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७