खनाल–नेपाल समूहका सांसदको हस्ताक्षर : एकताको ढोका बन्द भए राजीनामा बुझाउने निर्णय


२६ बैशाख २०७८, आईतवार
Madhav jhalanath1

काठमाडौं, २६ बैसाख । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामुहिक राजीनामा गर्ने गरी हस्ताक्षर संकलन गरेका छन् ।

शनिवार राती त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामुहिक राजीनामा दिने गरी सबैले हस्ताक्षर गरेका हुन् ।

‘पार्टी एकता जोगाउन अन्तिमसम्म हदैसम्म प्रयत्न गर्ने तर एकताका लागि ढोका बन्द गरेर भोटे ताल्चा लगाइए सामुहिक राजीनामा गर्नेगरी प्रत्यक्ष निर्वाचित २२ सांसदले जनाले शनिवार हस्ताक्षर गरेका छौं’ बैठकपछि सांसद झपट रावलले भने । एकताको ढोका बन्द गरिएको अबस्थामा प्रधानमन्त्री केपी ओलीको हठ र दम्भका कारण कम्युनिष्ट पार्टी विर्सजन र विघटनमा गएको कुरासहित पत्रकार सम्मेलन गरेरै राजीनामालाई सार्बजनिक गर्नेसम्मका विषयमा छलफल भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको हठकै कारण विभाजन हुने अबस्थामा पार्टी पुगेको भन्दै अधिकांश सांसदले पूर्व पार्टी प्रमुख र सबैभन्दा सिनियर नेताको हैसियतमा वरिष्ठ नेता नेपाललाई आईतबार दिनभर एकता जोगाउने काममा अग्रसरता लिन सुझाव समेत दिएका छन् ।
‘हामीले उतापट्टीका (प्रधानमन्त्री निकट) दोस्रो तहका महासचिव, उपमहासचिव लगायतका नेताहरूलाई बोलाएर पार्टी एकता जोगाउने विकल्पबारे लचकता अपनाएर भए पनि अन्तिम कुराकानी गर्नुस्, यो अन्तिम घडीमा त्यताबाट केही होला कि भनेर पर्खिएर मात्रै नबस्नुस्, तपाईले सिधै प्रधानमन्त्रीलाई पनि बोलाएर कुरा गर्न सक्नुहुन्छ, एकताका लागि अन्तिम पहल लिनुस् भन्ने सुझाव दिएका छौं’, अर्का सांसद गणेश पहाडीले भने । उनले बैठकले पहिलो प्राथमिकता हदैसम्म लचकता अपनाएर भए पनि पार्टी एकता जोगाउनै पर्ने निष्कर्ष निकालेको पनि प्रष्ट्याए ।

बैठकमा खनाल–नेपाल समूहका तर्फबाट संस्थापन पक्षका दोस्रो तहका नेताहरूसँग भईरहेको नियमित छलफलबारे नेताहरू घनश्याम भूषाल, योगेश भट्टराई र गोकर्ण विष्टले ब्रिफिङ गरेका थिए । उनीहरूले २ जेठ २०७५ अघिको पार्टी पदाधिकारीसहितको स्थायी कमिटी बैठक बस्ने र कार्यदललाई तत्कालीन कमिटी ब्युँताउने गरी कार्यदेश दिने बितिक्कै सकारात्मक दिशाउन्मूख छलफल मिल्नसक्ने तहमा पुगेको ब्रिफिङ गरेका थिए । उनीहरूले शुक्रवार महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुबास नेम्बाङ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली समूहका नेताहरू तत्कालीन एमाले स्थायी कमिटीको बैठक बोलाएर २८ फागुनको निर्णयलाई अनुमोदन गराउने तथा बेग्लै कार्यदल बनाएर २ जेठ ०७५ अघिको कमिटी ब्युँताउने विषयमा सहमत रहेको बैठकमा ब्रिफिङ भएको थियो ।

तर, आफूहरूले तत्कालीन एमालेको पदाधिकारीसहितको स्थायी कमिटी बैठकबाट २८ फागुनको बैठकको निर्णय अनुमोदन गर्ने तथा कार्यदललाई २ जेठ २०७५ अघिको कमिटीहरू ब्युँताउने गरी स्पष्ट कार्यदेश हुनुपर्ने अडान राखेपछि विना निष्कर्ष शुक्रवारको छलफल टुंगिएको जानकारी गराएका थिए । प्रधानमन्त्री ओली समूहका नेताहरूले त्यसबारे प्रधानमन्त्रीसँग सोधेर छलफलमा बस्ने भने पनि संवादका लागि पहल नभएपछि खनाल–नेपाल समूहका नेताहरू अन्तिम रणनीति तय गर्न राति अबेरसम्म छलफलमा जुटेका हुन् ।

पदाधिकारीसहितको स्थायी कमिटी बैठक बसेर महाधिवेशन आयोजक कमिटी बनाउने र त्यसमा पूर्व माओवादी समूहका गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ नेतालाई आयोजक कमिटी र केहीलाई स्थायी कमिटीमै पनि मनोनित गरेर अहिलेकै जिम्मेवारी दिन लचक भएको छ । तर, ओली समूहका नेताहरूले भने कार्यदललाई तत्कालीन एमालेको कमिटी ब्युँताउने विषयमा भने कुनै प्रष्ट धारणा राखेका छैनन् ।

स्रोतका अनुसार २ जेठ २०७५ अघिको कमिटी ब्यूँताउने प्रस्तावलाई ओलीले शनिवारसम्म स्वीकार गरेका छैनन् । सोही कारण विहीबारदेखि ओली–नेपालबीच निर्णायक संवाद गराएर अन्तिम गाँठो फुकाउने दुवै तर्फका दोस्रो तहका नेताहरूले गरेको प्रयास सफल हुन सकेको छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७