कुलेखानीमा नयाँ आयोजनाको अध्ययन


२६ बैशाख २०७८, आईतवार
kulekhani

काठमाडौं, २६ बैसाख । नेपाल विद्युत् प्राधिकरणले बनाउन खोजेको कुलेखानी सिस्नेरी पम्प स्टोरेज आयोजनाको भौगोलिक अध्ययन सम्पन्न भएको छ ।

कुलेखानी जलाशयकै पानी प्रयोग गरेर विद्युत् निकाल्ने र त्यो पानी पुनः जलाशयमै फिर्ता पठाउने गरी विद्युत् आयोजना बनाउन गत चैतमा विद्युत् विकास विभागले अनुमति दिएको थियो ।

अहिले प्राधिकरण मातहतको एनईए इन्जिनियरिङले पूर्व सम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययनमा संलग्न प्राधिकरणका इन्जिनियर शिवराम केसीका अनुसार हालसम्म भौगोलिक अध्ययन पूरा भएको छ भने भौगर्भिक, वातावरणीयलगायतका अध्ययनको काम भइरहेको छ । असार मसान्तभित्र पूर्व सम्भाव्यता अध्ययन सक्ने लक्ष्य प्राधिकरणको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो आयोजना सस्तो भएकाले तत्काल निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘आगामी असारसम्म अध्ययनको काम सक्ने र अर्को वर्षको असारभित्र निर्माण सुरु गर्नुपर्छ भन्नेमा हामी छौँ ।’ उनका अनुसार आयोजना सम्पन्न गर्न करिब नौ अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रारम्भिक अध्ययनबाट यो आयोजनाबाट सय मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । यो आयोजनाबाट सुक्खायाममा १०२ र वर्षायाममा ११८ गिगावाट गरी वार्षिक २२० गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । विद्युतको माग उच्च हुने समयमा सञ्चालन गर्ने गरी यो आयोजना बनाउन लागिएको हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७