डा. प्रेमको नमेटिने पदचाप


२८ बैशाख २०७८, मंगलवार
prem ale magar1e

छातीमा तक्मा । कोट पाइन्ट, टिलिक्क टल्केको जुत्ता अनि खाइलाग्दो ज्यान । सार्वजनिक कार्यक्रम र भेलाहरुमा बाक्लै देखिने प्रेम आलेलाई लाहुरे हुन् भने लख काट्न कसैलाई धेरै समय लाग्दैन ।

आमनागरिकलाई हेर्दा आलेको जीवन ऐस–आराममै अघि बढिरहेको छ । तर, सँगैका लाहुरे साथी सर्कल जस्तै उनी चिल्ला गाडीमा देखिँदैनन् आले । उनी ब्रिटिस आर्मीको रिटायर्ड मेजर हुन् । बेला मौकामा नेपाल ओर्लिरहने आले साधारण भेषमा भेटिन्छन् । बेलायती सेनाबाट सँगै रिटायर्ड भएका दौतरीहरु अहिले देश र विदेशका ठूला शहरमा ऐस आरामको जीवन बिताइरहेका छन् । तर प्रेम भने धेरैजसो साधारण हुलियामा नेपालमै बढीजसो भेटिन्छन् ।

बेलायती सेनाको मेजर पदमा पुगेका प्रेम आलेलाई ऐस, आराम र सुविधाभोगको जीवन भन्दा साधारण र समाजसेवामा सक्रिय जीवन नै प्यारो लाग्छ । आफूभन्दा धेरै जुनियर पदबाट रिटायर्ड भएका साथीहरुले सुखको जीवन सुरक्षित गरिरहेका बेला रिटायर्ड मेजर डा. प्रेम आले भने दुःखहरु कता–कता छन् त्यतै त्यतै खोज्दै हिंडिरहेका छन् ।

बेलायती सेनाको मेजर पदमा पुगेका प्रेम आलेलाई ऐस, आराम र सुविधाभोगको जीवन भन्दा साधारण र समाजसेवामा सक्रिय जीवन नै प्यारो लाग्छ । आफूभन्दा धेरै जुनियर पदबाट रिटायर्ड भएका साथीहरुले सुखको जीवन सुरक्षित गरिरहेका बेला रिटायर्ड मेजर डा. प्रेम आले भने दुःखहरु कता–कता छन् त्यतै त्यतै खोज्दै हिंडिरहेका छन् ।

पद, प्रतिष्ठा र अवसर आलेले कति पाए कति तर, सुखको जीवन बिताउन खासै पाएका छैनन् । आफ्ना लागि सबै पुग्दो भए पनि अन्यको दुःखले उनलाई कहिल्यै चैनको निन्द्रा दिँदैन । हुन त उनको स्वाभाव नै अजिबको छ, भौतिक सुख, सुविधामा शान्ति पाउँदैनन् अरे, त्यसैले चुप लागेर बस्नै सक्दैनन् ।

देशलाई केहि गर्नुपर्ने उमेरमा बाध्यताले लाहुरे बनेर विदेशी भूमिमा वर्षौ बिताउनु परेको ऋण अहिले आलेले देश र समाजको सेवा गरेर तिरिरहेका छन् । लाहुरमा हुँदा जतिकै सक्रिय रहने प्रेम समाजसेवाको कुनै एक क्षेत्रमा मात्र सीमित छैन । उनले देश–समाजमा देखिएका अभाव, समस्या, अप्ठ्यारोसँग जुधिरहेका दीनदुःखीहरुलाई साथ सहयोग मात्र गरेका छैनन्, विपतिका घटनाहरुमा सरकारका विभिन्न निकायहरुसँग हातोमालो गर्दै कामहरु गर्दै आएका छन् ।

बेलायती सेनाको एक उच्च पदमा पुगेको र त्यहाँ रहँदा विभिन्न पदमा रहेर काम गरेका अनुभवका कारण अवकासप्राप्त लाहुरेहरुका समस्या समाधान गर्नु, अवसरहरुको ढोका ढकढकाई दिनु त प्रेमको पहिलो दायित्व नै हो । प्राज्ञिक व्यक्तित्व भएका कारण लाहुरेहरुका हकअधिकार, विभेदका बारेमा लेख्नु, बोल्नु र उनीहरुलाई जागरुक बनाउँदै आवश्यक रणनीति र योजनाहरु बनाउनु पनि उनको कर्तव्यभित्र पर्छ । उनको समाजसेवा व्यक्तिगतदेखि सामाजिक संस्थामा आवद्धता जनाएर समेत रहेको छ । जसका कारण उनीबाट अपेक्षा गर्नेहरुको समूह देश र विदेशमा समेत ठूलो छ । आफूमाथि रिटायर्ड लाहुरेदेखि समाजका धेरै तह र तप्काका मानिसहरुले हाम्रा लागि केहि गरिदिन्छन् भन्ने अपेक्षा राखेकै कारण आफू सुविधा भोग गर्दै बस्न नसक्ने डा. प्रेम आले बताउँछन् ।

प्रेम आलेको परिचय एउटा रिटायर्ट लाहुरे मात्र होइन । लाहुर छिर्दा नेपाली बल र आँट मात्र बोकेर बेलायती सेनामा छिरेका प्रेमसँग रिटायर्ड भएर फर्किदा पैसा, प्रतिष्ठा, अनुभव, शिक्षा सबैथोक छ । त्यो भन्दा ठूलो कुरा यतिका वर्ष अर्काको देशका लागि काम गरे अब आफ्नै देश र आफ्नाहरुका लागि केहि गर्नुपर्छ भन्ने कर्तव्यबोध छ । यसले पनि आफूलाई समाज सेवाको क्षेत्रमा सक्रिय रहन बल दिइरहेको डा. आले बताउँछन् ।

विद्यावारिधि प्राप्तीले लाहुरेहरुलाई शिक्षा
लाहुरे भनेको अनपढ, सिधा, र मुर्ख हुन्छन् भन्ने छाप नेपाली जनमानसमा छ । नहोस् पनि कसरी । १० कक्षा उतीर्ण गरेका अधिकाशं लाहुरे हुन हतारिन्थे पहिले । तर पछिलो तथ्याङ्क हेर्ने हो भने ती मानसिकताको ठिक विपरीत पाइन्छ । हुन त नेपालबाट १०–१२ कक्षाको पढाइ सकेर लाहुरे बने पनि ब्रिटिसमा गएर अध्ययन गर्नेहरुको संख्या बृद्धि भइरहेको छ । हुन त नेपालको तुलनामा ब्रिटिसमा धेरै महँगो शिक्षा छ । तर, पनि उद्देश्य बोकेको मान्छेलाई कुनै अवरोधले छेक्दैन । त्यसको उदाहरण हुन् डा. प्रेम आले । डा. चन्द्र लक्सम्बा (स्वर्गीय), डा.मुलवीर राई, विजय हितमान मगर । यी नामहरु कुनै न कुनै विषयको विज्ञ हुन् । आले अन्तर्राट्रिय सम्बन्धमा विद्यावारिधी गरेका हुन् । त्यस्तै स्व. चन्द्र लक्सम्बा नेपाको शिक्षाका विज्ञ थिए । त्यस्तै मुलवीर राई फिल्म क्षेत्रमा विद्यावारिधि गरेका छन् । विजय हितमान मगर वातावरणविद् हुन् ।

उल्लेख्य नामहरु लाहुरेहरुका प्रेरण हुन् । धेरै अध्ययन गरेका लाहुरेहरुको नामको सूचीमा प्रेम आलेको नाम अग्रपंतिमा आउँछ । आलेले जस्तो समस्याहरु आफ्ना सामु तेर्सिए पनि आफ्नो इच्छालाई मर्न दिएनन्, बरु कसरी पुरा गर्न सकिन्छ त्यसमा डटेर लागिरहे । त्यहीं चाहनाले गर्दा आज आले भूतपूर्व गोर्खा सैनिक मात्र होइन साथमा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेको प्रमाणपत्र समेत देखाउन पाएका छन् ।
आलेले लाहुरे बनेर देखेको सपना भने होइन पीएचडी । बरु सानै छँदादेखि लिएको अठोट हो । तर, उनलाई लाहुरे बनेपछि भने पीएडी गर्न सजिलो बनेको आले बताउँछन् । सर्टिफिकेट तह मात्र अध्ययन गरेर लाहुरे बनेका आले अहिले अनुसन्धान तहका सर्टिफिकेट हात पारेकोमा दङ्गग छन् । आले भन्छन्, ‘लाहुरे बन्नु मेरो बाध्यता थियो । पीएडी गर्नु मेरो सपना र धोको हो ।’

सपनाको पछाडि लागेपछि बाध्यताले कहाँ रोक्छ र अन्ततः आलेले सन् २०१६ मा अन्तर्राट्रिय सम्बन्धमा अक्फोर्ड युनिभर्सिटीबाट आफ्नो सपनालाई पुरा गरिछाडे । आलेलाई पीएडी गर्न सजिलो थिएनन्, तर पनि उनले हिम्मत हारेनन् । पीएडी गर्न धेरै समय आवश्यक पर्ने भएकाले सजिलो हुने कुरै भएन । ४ घण्टा मात्रै सुतेर अध्ययन अनुसन्धान गर्थे । बिभिन्न वेभसाइटहरु चहार्थे । हुन त आलेले बिएसीदेखि माथिका सबै अध्ययन आर्मी छँदा नै गरेका हुन् । सन् २००६ मा युनिभर्सिटी अफ लण्डनबाट राजनीति तथा अन्तर्राट्रिय सम्बन्ध बिएसी गर्दा अत्यन्तै खुशी भएको आलेले सुनाए । हुन पनि हो आर्मीको जागिर कहाँ सजिलो हुन्थ्यो र डयूटी नगरी सुख नै थिएन । डयूटी गरेर बचेखुचेको थोरै समयलाई सदुपयोग गरेर यो उपलब्ध हात पारेका हुन् उनले । आलेले चाहेका सबै त पुरा भएको छैनन् केही अंश पुरा भए पनि आले आफूलाई सौभाग्यशाली ठान्छन् । उनी भन्छन्, ‘भगवानले तँ चिता म पु¥याउँछु भन्छन् अरे त्यस्तै भयो मेरो हकमा पनि ।’

लाहुर प्रवेश र अवकास
लाहुरे बाबु धेरैले आफ्ना छोरोहरु पनि लाहुरे बनुन्, पैसा कमाउने भन्ने नै धेरै सोच्छन् । धेरै पढोस् प्रोफेसर बनोस् कमैले चाहेको पाइन्छ । आलेको बुबा पनि त्यहीं चाहन्थे छोरो लाहुरे बनोस् । ठ्याक्कै उल्टा थिए आलेका सपना बुबाको भन्दा । आलेलाई थियो पढेर नेपालमै केही गर्ने तर आफ्ना इच्छाले मात्रै चल्दै जीवन त्यसैले आलेको जीवन पनि बाबुको इच्छा अनुसार नै अघि बढ्यो ।

आले सन् १९८६ जनवरीमा ब्रिटिस आर्मीमा सिपाहीको रुपमा भर्ती भए । ब्रिटिस आर्मीमा रहँदा मेजरसम्म बने । सेवामा रहँदा आलेले मुख्य सैनिक तालिम तथा विकासमा, मुख्यः शिक्षा क्षेत्रमा रहेको थियो ।

पढ्दा पढ्दै भर्ति भए लाहुरमा । तर, संयोग नै मान्नुपर्छ आले जे चाहन्थे त्यही अनुररु आले भर्ति भएको वर्ष शैक्षिक सुधारका लागि पनि लाने भए गोराहरुले । उनले त्यही शीर्षकमा आवेदन दिए । पढाइमा अब्बल छनोट नहुने कुरै भएन । आले सन् १९८६ जनवरीमा ब्रिटिस आर्मीमा सिपाहीको रुपमा भर्ती भए । ब्रिटिस आर्मीमा रहँदा मेजरसम्म बने । सेवामा रहँदा आलेले मुख्य सैनिक तालिम तथा विकासमा, मुख्यः शिक्षा क्षेत्रमा रहेको थियो । आलेले सेनाको शिक्षा मुख्यालय विभागको अफिसर भएर काम गरेका हुन् । उनको रुचीको विषय शिक्षामार्फत सामाजिक सेवा गर्नु रहेकाले धेरै संस्थामा आबद्ध रहेर काम गरेका छन् । आले तीन दशक लामो ब्रिटिस आर्मीमा सेवा गरेर सन् २०१६ सेप्टेम्बरमा झण्डै ३१ वर्षको सेवापछि अवकास लिएका लाहुरे हुन् ।


व्यक्तिगत र सामाजिक योगदान

भूपू गोर्खाका सैनिकहरुको हक अधिकारका लागि धेरै संस्थाहरु रहे पनि लाहुरेका मुद्दाहरु अझै निष्कर्षमा पुगिसकेका छैनन् । त्यहीं मुद्दामा लागेका धेरै भूपूहरु लाखापाखा लागिसके पनि केही व्यक्ति दिलो ज्यान दिएर लागिरहेकै छन् । गोर्खाको अधिकार प्राप्तीमा लागेका एक जना हस्ती भने सामाजिक सेवामार्फत नै धेरैको उद्धार गरिरहेका छन् ।

उनको सामजिक सेवा एक कार्यमा मात्रै सीमित छैनन् । वहुक्षेत्रमा छन् । उनले गरीब दुःखीहरुकै लागि आफ्नो पेन्सनको २५ प्रतिशत रकम छुट्याएका छन् । आफ्ना पेन्सन कटौती गरेर गरीब दुःखी सहयोग गर्न पाउँदा मन शान्त हुने आले बताउँछन् । मन शान्त बनाउन आलेले माइती नेपाल, आमाको घर, होपाङ, राइट फर चिल्ड्रेन, जस्ता सामाजिक संघसंथालाई ब्यक्तिगत रुपमा २ देखि पाँच लाख सहयोग गरेका छन् ।
तर, पनि आले आफ्नो कामलाई समाज सेवा ठान्दैनन् कर्तव्य मान्छन् । त्यसैले आलेले २०७२ सालको महाभूकम्पबाट क्षतविक्षत भएको धादिङको मार्पक गाउँमा ३ लाख अमेरिकी डलर जुटाई ८ वटा विद्यालय निर्माण गरेका छन् ।

आफ्नो जन्मस्थान चितवन भए पनि आवश्यता कहाँ पर्छ त्यहीं सहयोग गर्ने बानी छ आलेको । उनले पोखराको फुस्रे खोलामा ब्यावसायिक शिक्षा तथा तालिम दिने उद्देश्यले एफएबी स्कुल निर्माण गरेका छन् । १.२ मिलियन पाउण्ड बजेटमा निर्माण गरिएको उक्त विद्यालयमा गरीब, अनाथ तथा असहाय बालबालिकाहरुलाई उद्धार गरी ब्यवसायिक शिक्षा तथा तालिम दिलाई बाँच्ने आधार तयार गर्ने उद्धेश्य छ । गरीब, अनाथ तथा असहायलाई केही गरौं भन्ने धोको बोकेका आलेको यो सपना आंशिक रुपमा पुरा भएको छ ।

गरीब दुःखीहरुकै लागि आफ्नो पेन्सनको २५ प्रतिशत रकम छुट्याएका छन् ।

अहिले उक्त विद्यालय सञ्चालमा आइसकेको छ । उक्त विद्यालयमा बेलाबेलामा आले पुग्ने गर्छन्, अध्ययनरत विद्यार्थी देख्दा अत्यन्तै खुशी लाग्ने गरेको आले बताउँछन् । आर्थिक कमजोरीको कारणले कोही पनि शिक्षा आर्जनबाट बञ्चित हुन नपरोस् भन्ने आलेको मान्यता छ । आफ्नो बलबुतोले भ्याएसम्म सहयोग गर्न लागि पर्ने आलेले नवलपरासीको कावासोतीस्थित ‘श्री जीवन ज्योति माबि’ मा श्री भीमबहादुर तथा श्रीमती कमल माया आलेको नाममा अक्षय कोष स्थापना गरी बाबाआमाको नाममा वर्षेनी ५० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका छन् ।

आलेको समाजसेवाको किस्सा यतिमा मात्रै सीमित छैन । आले बेलायतमा पनि सेवा गर्न उतिकै सक्रिय छन् । आलेले सुस्त मनस्थिति भएका बच्चाहरुका लागि काम गर्ने संस्थालाई सहयोग गर्दै आएका छन् । आलेको सक्रियतालाई सम्मान गर्दै बेलायतको कान्टी काउन्सिलले उच्च कदर गर्दै प्रशंसापत्र समेत प्रदान गरेको थियो । साथै आले बस्ने क्षेत्रमा सम्मानका लागि एउटा बाटोलाई ‘गोर्खा रोड’ नामाकरण गरिदिएका छन् । रोडको नाम नै गोर्खा रोड नामाकरण गरेकोमा आले दंग छन् । ‘यो रोड मात्रै हैन गोर्खालीहरुले गरेको योगदानको प्रतिकात्मक हो’ आले भन्छन् ।

आले चिल्ड्रेन फर चिल्ड्रेन नेपाल नामक परोकपकारी संस्थामा आबद्ध भएर काम गर्न थालेको ७ वर्ष वितिसकेको छ । यो संस्थामा आवद्ध हुने आले नै हुन् पहिलो र एक मात्र नेपाली ट्रष्टी । नेपालको परोपकारी संस्था ‘कोपिला नेपाल’ सँग आबद्ध भई काठमाडौंमा ‘चिल्ड्रेन ट्रमा म्यानेजमेन्ट सेन्टर’ बनाएको । प्राकृतिक प्रकोप, हत्या हिंसा जस्ता घटनाबाट मानसिक पीडा भोगेकाहरुलाई उपचार गर्ने सेन्टर बनाएको । हाल वार्षिक एक हजारको हाराहारीमा सेवा लिँदै आएका छन् । आलेको अठोट छ मृत्युसम्म नै समाजसेवामा सक्रिय हुन पाउँ ।

याे पनि पढ्नुहाेस्
अमेरिकी एमसीसी र आइपीएसबिरुद्ध चीनको बिआरआई ?
विश्व युद्धले बनाएको समलिङ्गी गोर्खाली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७