ओलीको सन्देशले रोक्यो राजीनामा


२९ बैशाख २०७८, बुधबार
KP oli And madhav nepal 5 1536x762 2

काठमाडौं, २९ बैसाख । सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो । आइतबार राति नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर लोकतन्त्र र पार्टी हितका लागि सांसदबाट राजीनामा दिन तयार रहेको जनाउ दिएका थिए । सोमबार बिहान सांसदबीचको छलफलपछि भने राजीनामाबाट पछि हटेर संसद्मा अनुपस्थित हुने निर्णयमा पुगेको हो ।

नेपाल पक्षका सांसदको छलफल चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिन र अन्य विकल्प रोज्न आग्रह गर्दै पार्टीको विवाद संवाद गरेर मिलाउने सन्देश पठाएका थिए । बैठकमा ओलीको सन्देशबारे पनि छलफल भएको थियो । त्यसपछि नेपाल पक्षका सांसदले राजीनामा नदिई संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए । छलफल सकिएलगत्तै अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्षका नेता घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईसँग छलफल गरेका थिए ।

उनले पार्टी एकताका लागि अझै पनि आधारहरू बाँकी रहेको, फागुन २८ गतेका निर्णयमा पुनर्विचार गर्न सकिने तथा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाको सांगठनिक संरचनाअन्तर्गत लैजान सकिने विकल्प बाँकी रहेको बताएका थिए । सांसदले राजीनामा नदिएर अन्य विकल्प रोजेमा त्यसबापत कुनै पनि कारबाही नहुनेमा पनि उनले आश्वस्त बनाएको स्रोतको दाबी छ ।

पौडेलसँग संवाद गरेर बाहिरिएका भट्टराईले एमालेको एकता कायम रहेको आम कार्यकर्ताले हेर्न चाहेकाले यसलाई कसैले पनि बेवास्ता गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए । ‘सबैले अहिले एमालेको एकता चाहेका छन्, त्यसलाई कसैले नजरअन्दाज नगरौं, हेरौं, अझै समय छ,’ भट्टराईले भनेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७