प्रधानमन्त्री दाबीको तयारीमा जसपा


२९ बैशाख २०७८, बुधबार
jasapa neta

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा जुटेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको बुधबार एकाएक बोली फेरिएको छ ।

भट्टराईले बुधबार चार प्रस्ताव अघि सारेका छन् । उनले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.) लागू४.एक बर्षभित्र चुनाव !’

उनै भट्टराईकै पहलकदमीमा बिभाजनको डिलमा पुगेको जसपाका शीर्ष नेताहरूको बैठक बुधबार बसेको छ । बैठकमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो पक्ष, अध्यक्ष उपेन्द्र यादव, डा.भट्टराईको लगायत सहभागी थिए । बैठकमा ठोस सहमति नभएपनि भोली पनि बस्ने गरी टुङ्गिएको छ ।

बैठकपछि डा. भट्टराईले बिहीबारसम्म पार्टीको एकीकृत धारणा तय गरिने जानकारी दिए । बुधबारको अनौपचारिक छलफलमा आएका विचारमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकीकृत निर्णय गरिने उनले बताए । भने, ‘छलफल जारी राख्छौँ र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौँ । विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्नरत छौँ । अहिले निष्कर्षमा पुगिसकेका छैनौँ । भोलिसम्ममा निष्कर्षमा पुग्छौँ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडि बढिरहेका छौँ ।’

स्रोतका अनुसार जसपालाई बिभाजनबाट रोक्नको लागि भएपनि प्रधानमन्त्रीको दाबी गर्ने बारेमा छलफल सुरु भएको छ । वर्तमान र पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार अर्थात् डा.भट्टराईले महन्थ ठाकुर वा उपेन्द्र यादवको नेतृत्वमा सरकार बनाउनु पर्ने प्रस्ताव राखेको स्रोतको दाबी छ ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छन्। उक्त समय बिहीबार राति ९ बजे सकिन लागेको छ ।

यही बिषयमा जसपामा तिव्र विवाद छ । यादव र भट्टराई विपक्षी गठबन्धनसँग मिलेर बहुमतको सरकार बनाउनुपर्ने पक्षमा छन् भने ठाकुर र महतो सरकार गठनमा सहभागी नहुने पक्षमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा पनि दुवै पक्षले फरक-फरक पक्षमा मत हालेका थिए । ठाकुर र महतो पक्षका सांसद तटस्थ बसेका थिए भने यादव र भट्टराई पक्षका सांसदले ओलीको प्रस्तावको विपक्षमा मत हालेका थिए ।

अध्यक्ष यादवले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने कसरत सुरु गरेपछि बुधबार ठाकुर र महतोले रोक्न दिनभरी दौडधुप गरे । दुई नेता बालुवाटार र शीतलनिवास पुगेर आफ्ना कुरा राखेका छन् । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग बैठक गरेपछि ठाकुर र महतोले राष्ट्रपतिसमक्ष उपेन्द्र यादवको हस्ताक्षरलाई वैधता नदिन आग्रह गरेका थिए । सत्ता समिकरणलाई लिएर यसरी दुई धारबीचको विवाद पार्टी बिभाजनको तहमा पुगेपछि आफै दाबी गर्नुपर्ने अडानमा डा. भट्टराई छन् ।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको विपक्षमा १२४ मत आएको थियो। बहुमत पुग्न १३६ मत चाहिन्थ्यो। जसपाका महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका १५ सांसदले विपक्षमा मतदान गरेका थिए। प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत आएको थियो। १२१ सांसद रहेको एमालेमा नेपाल पक्षका २८ जनाले ओलीलाई मत दिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७