कस्तो हेलमेट किन्ने ?


१३ फाल्गुन २०७४, आईतवार
helmet 1487754294

काठमाण्डौं, १३ फागुन : हेलमेट दुई पाङग्रे सवारी चालकका लागि सुरक्षाको कवज मानिन्छ । टाउको शरीरको संवेदनशील अंग भएकाले यसको सुरक्षाका लागि बाइक, स्कुटर तथा साइकल चालकले हेलमेट लगाउनु अत्यन्त जरुरी हुन्छ । हेलमेट प्रयोगकर्ताको सुरक्षाका लागि भएपनि सकभर यो नलगाउन पाए हुन्थ्यो भन्ने भाव चालकमा देखिन्छ। यदाकदा छोटो दुरी तथा ट्राफिक प्रहरी नहुने ठाउँमा पाएसम्म हेलमेट नलगाई सवारी चलाउन खोज्ने प्रवृति खासगरी उपत्यका बाहिर तथा ग्रामीण ठाउँका धेरै जनामा देखिन्छ ।helmet 1487754294

तर चालकको यही लापरबाही तथा कमसल हेलमेट लगाउँदा दुई पाङ्ग्रे सवारी दुघर्टनामा पर्दा ज्यान जाने जोखिम उच्च रहने गरेको तथ्यांकहरुले देखाउँछ । ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा अधिकाशं मोटरसाइकल चालक पर्ने गरेका छन् । तिव्र गतीमा सवारी चलाउनु, हेलमेटको प्रयोग नगर्नु तथा कमसेल हेलमेट भएकै कारण त्यो फुटेर टाउकोमा गम्भीर चोट लागेका प्रशष्त घटना प्रहरीसँग छन् । त्यसो त काठमाडौंको सडक पनि मोटरसाइकलका लागि निकै जोखिमपूर्ण छन् ।

प्राय सधैं धुलाम्मे, वर्षातमा हिलाम्मे, खाल्डाखुल्डी, सडक छेउका ढुंगा तथा कंक्रिट, ठूला सवारीसाधनको मनपरी र अपर्याप्त ट्राफिक संकेतका कारण मोटरसाइकल चालकलाई राजधानीका सडक जोखिमयुक्त मानिन्छ । त्यसकारण हेलमेटको प्रयोगमा दुई पाङग्रे सवारी चालक सधैं संवेदनशील रहनुपर्ने बताउँछन् सम्वद्ध व्यवसायी । शिव हेलमेट त्रिपुरेश्वरका राम चौधरीका अनुसार नेपालमा भारत, चीन, अमेरिका तथा युरोपबाट हेलमेट आयात हुन्छन् भने केहिले विदेशबाट केही कच्चा पदार्थ आयात गरी नेपालमै फिटिङ समेत गर्ने गरेका छन् ।

त्यस्तै धेरै चालकमा महँगो मोटरसाइकल किन्ने तर हेलमेट भने कमसल तथा सस्तो खोज्ने प्रवृति रहेको चौधरी बताउँछन् । यसबाहेक मौसम अनुसार हेलमेट प्रयोग गर्न नजान्दा, ब्राण्डेडभन्दा पनि झिल्के रोज्दा तथा समय­समयमा सफा नगर्दा समेत समस्या हुने गरेको चौधरीको भनाई छ । यसो भए, हेलमेट किन्दा तथा किनेपछि कस्ता कुरामा ध्यान दिनुपर्छ त ?

टाउको अनुसारको हेलमेट लगाउने

आफूलाई फिट हुने हेलमेटको प्रयोगले टाउकोको सुरक्षामा मात्र नभएर व्यक्तिको मानसिकतामा पनि सकारात्मक भूमिका खेलेको हुन्छ । बजारमा प्रयोगकर्ताको टाउकोको साइज अनुसारका विभिन्न ५ प्रकारका हेलमेट उपलब्ध छन्। यी सानो वा ठूलो टाउको भएका मोटरसाइकल चालक दुबैलाई फिट हुन्छ । बजारमा ५३ तथा ५४ सेन्टिमिटरको ‘एक्सट्रा स्मल’, ५५ तथा ५६ सेन्टिमिटरको ‘स्मल’, ५७ तथा ५८ सेन्टिमिटरको ‘मिडियम’ ५९ तथा ६० सेन्टिमिटरको ‘लार्ज’ र ६१ तथा ६२ सेन्टिमिटरको ‘एक्सट्रा लार्ज’ साइजका हेलमेट उपलब्ध छन् ।
यी बाहेक सामान्य भन्दा निकै सानो तथा ठूला टाउका भएकालाई ५१ तथा ५२ सेन्टिमिटर को ‘एक्सट्रा एक्सट्रा स्मल’ र ६३ तथा ६४ सेन्टिमिटरको ‘एक्सट्रा एक्सट्रा लार्ज’ साइजका पाइने हुँदा आफ्नो टाउको सुहाउँदो हेलमेट छान्नुपर्छ ।

मौसम अनुसारको हेलमेट

यदि तपाई बस्नुभएको स्थानको मौसम चिसो छ भने फुल हेलमेटको प्रयोग गर्दा त्यसले अनुहार तथा टाउको दुबैलाई चिसोबाट बचाउँछ । तर गर्मीको मौसममा फूल हेलमेट भन्दा ‘हाफ’ वा ‘ओपन’ हेलमेटको प्रयोग गर्नु मौसम अनुकुल हुन्छ । यद्यपी सुरक्षाको हिसाबले हाफ भन्दा फुल हेलमेटको प्रयोगमा जोड दिनुपर्छ ।

हेलमेटको सर्टिफकेसन हेर्ने

नेपालमा हेलमेटको गुणस्तरमा कुनै मापदण्ड नभए पनि भारत, युरोप तथा अमेरिकामा भने सर्टिफिकेसनको तह निर्धारण गरिएको हुन्छ । नेपालमा हेलमेट उत्पादन नभए पनि विदेशबाट केही कच्चा पदार्थ ल्याई नेपालमै फिटिङ गर्ने गरिएको छ । विदेशबाट आयातित भनिएका नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ । अयातित हेलमेटमध्ये भारतको ‘आइसए सर्टिफाइड’, अमेरीकाको डर्ट सर्टिफाइड तथा युरोपको इसीएस सर्टिफाइड हुने गर्दछ। त्यसैले गुणस्तरीय हेलमेट हो होइन भन्ने थाहा पाउन त्यसको ब्राण्ड र सर्टिफिकेसनमा ध्यान दिन जरुरी हुन्छ ।

सवारी अनुसारको हेलमेटको

आफ्नो सवारी साधनभन्दा पनि फेसन अनुसारको हेलमेट प्रयोग गर्ने विकृति बढेर गएको छ । यसका कारण लगाउँदा भद्दा देखिनुका साथै सुरक्षाको जोखिम पनि उच्च रहने गर्दछ । मोटरसाइकल, स्कुटर वा साइकलले आफ्नो साधनलाई सुहाउँदो तथा सुरक्षित र सवारीको सिसी क्षमता अनुरुपको हेलमेटको प्रयोग गर्नु आवश्यक हुन्छ ।

समय­-समयमा हेलमेट धुने

आफूले प्रयोग गर्दै आएको हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्ने, छालामा एलर्जी आउने, टाउको चिलाउने जस्ता समस्या देखापर्छन् । शारिरिक मात्र नभई मानसिक रुपमा पनि स्वस्थ रहन आफूले लगाउने कपडाझैँ हेलमेट पनि समय­समयमा राम्रोसँग धुन आवश्यक हुन्छ। यदी हेलमेट निकै पुरानो छ भने नयाँ प्रयोग गर्नुपर्छ ।

६– ६ महिनामा हेलमेटका सामाग्री फेर्ने

हेलमेट व्यापारी तथा व्यवसायिक बाइक राइडरको भनाइ अनुसार हेलमेटमा प्रयोग भएको फाइबर, भाइजर लगायतका सामाग्री समय­समयमा सफा गर्ने तथा परिवर्तन गर्ने गर्नुपर्छ। स्वास्थ्यका दृष्टिकोणले हरेक ६­ ६ महिना पछि आफूले प्रयोग गरेको हेलमेटका सामाग्री तथा आवश्यक्ता अनुसार ६ देखि बढीमा डेढ वर्षमा हेलमेट नै फेर्ने गर्नुपर्छ ।

सस्तो भन्दा ब्राण्डमा जोड

पछिल्लो समयमा गुणस्तरमा भन्दा हेलमेटको प्रिन्ट, डिजाइन, लुक्स हेरेर किन्ने प्रचलन बढेर गएको व्यवसायी बताउँछन् । ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा कमसल तथा सस्तो मूल्यकोे प्रयोगका कारण हेलमेट फुटेर गहिरो चोट लाग्ने गरेको पाइने गरेको छ । त्यसैले चालकले आफ्नो सुरक्षाका लागि कमसल वा झिल्केलाई भन्दा ब्राण्डेड, गुणस्तरीय र बढी सुरक्षित हेलमेट प्रयोगमा जोड दिनुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७