कोरोनाबाट तीन दिनको अन्तरमा दम्पतीको मृत्यु, आफन्त पनि नभएपछि दुई छोराको विचल्ली


३ जेष्ठ २०७८, सोमबार
korona covid scaled

सुनसरी, ३ जेठ । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानमा तीन दिनको अन्तर एक दम्पतीको ज्यान गएको छ । धरान–१ स्थित सत्य साई मन्दिरमा हेरालुको रुपमा रहँदै आएका एक दम्पतीको तीन दिनको फरकमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको हो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार वैशाख ३१ गते विराटनगरस्थित एक अस्पतालमा निधन भएको थियो । उनको ३७ वर्षीय श्रीमतीको पनि हिजो आइतबार करिब ५ बजेतिर होम आइसोलेसनमा नै निधन भएको मेहताले जानकारी दिए । मृतकको शवलाई राति नै नेपाली सेनाको टोलीले अन्त्येष्टी गरिसकेको छ ।

छिमेकी एवं कांग्रेस नेता विकास आचार्यका अनुसार मृतक दम्पती साई मन्दिर रेखदेख गर्थे भने श्रीमान कुकको पनि काम गर्ने गर्थे । कामको सिलसिलामा उनी धनकुटा गएका थिए । त्यहाँबाट फर्कदा ज्वरो आएपछि उनलाई विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको विराटनगरमा नै निधन भएको थियो ।

श्रीमानको कुरुवा बसेकी श्रीमतीलाई पनि संक्रमण भएपछि होम आइसोलेसनमा नै बसेकी थिइन् । आइतबार चिच्याउने, कराउने गरेपछि स्थानीयले उपमहानगरपालिकामा खबर गरेका थिए । अस्पतालमा बेडको व्यवस्थापन गरेर राति १ बजे एम्बुलेन्स लिन पठाउँदा पनि बिरामीले अस्पताल नजाने भनेपछि लैजान नसकिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।

मृतक दम्पती १५ वर्षभन्दा कम उमेरका दुई जना छोरा छन् । उनीहरुको बुबा पट्टिको कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएको छिमेकी आचार्यले जानकारी दिए । उनले भने, ‘सानीआमा पर्ने धरानमा छ भन्ने सुनेका छौं, बुबा पट्टीको त केही पनि देखिएको छैन । दुई छोराको विचल्ली होला जस्तो भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७